काठमाडौं- गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीको जीवन रक्षाको माग गर्दै सभामुखलाई निवेदन दिइएको छ। राष्ट्रिय जनमोर्चाका तर्फबाट सांसद रहेका शाहीको अवस्था अज्ञात रहेको सचेतक पियारी थापाले बताएकी छिन्।
सचेतक थापाले शाहीको अवस्था सार्वजनिक गर्न, जीवन रक्षा गर्न र अवस्था सार्वजनिक नभएसम्म सदनको कारबाही अगाडि नबढाउन सभामुख नेत्रनाथ अधिकारीलाई निवेदन दिएकी हुन्।
जनमोर्चाले अविश्वासको प्रस्तावका पक्षमा मत हाल्ने जनाएको छ। तर, शाही सम्पर्कविहीन भएपछि अन्योल सिर्जना भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पास गर्ने प्रयास भइरहेका बेला शाही सम्पर्कविहीन छन्।
स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) पनि बैठक स्थल पुगेका छैनन्। शाही र गुरुङ उपस्थित नभएकाले अविश्वास प्रस्ताव पास हुने सम्भावना कमजोर बनेको छ।
यसैबीच, सांसद शाहीलाई कोरोना संक्रमण भई चरक अस्पतालको आईसीयूमा भर्ना भएको जानकारी पाएको कांग्रेस सांसद विष्णुप्रसाद लामिछानेले बताएका छन्। तर, लामिछानेका अनुसार शाहीलाई कोरोना संक्रमण भने भएको थिएन।
उनले भने, ‘हिजो गरेको स्वाब संकलनको आज आएको रिपोर्टमा उहाँको नेगेटिभ आएको छ। सरकारले उहाँलाई अपरहणको शैलीमा राखेको हाम्रो आशंका छ।’
चरक अस्पतालमा एमाले सांसद राजीव पहारीको पनि लगानी छ। पहारीकै लगानी रहेको अस्पतालमा उनी भर्ना भएको भन्नुले थप आशंका जन्माएको लामिछानेले बताए।
मंगलबार स्वाब संकलन गरी बुधबार आएको नतिजामा सांसद शाहीलाई कोरोना संक्रमण देखिएको थिएन। शाहीले जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापालाई पनि कुनै जानकारी नदिएको बताइएको छ।
एकजना मात्रै अनुपस्थित हुँदा विपक्षीलाई बहुमत पुग्दैन। बहुमतका लागि ३१ मत आवश्यक पर्छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन्। जसमा जनमोर्चाका सांसदले हस्ताक्षर नगरेपनि समर्थन रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।