काठमाडाैं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा आजै मतदान हुने भएको छ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले संसद्मा दर्ता गराएको अविश्वासको प्रस्तावमा जारी संसद्ले टुंगो लगाउने भएको हो।
संसद्को कार्यसूची अनुसार सांसदहरूले बोलेर सकिएपछि मुख्यमन्त्री गुरुङले जवाफ दिनेछन्। मुख्यमन्त्रीको जवाफपछि मतदानको प्रक्रिया सुरु हुनेछ।
यसैबीच, गण्डकी प्रदेश सभाको जारी विशेष अधिवेशनमा कोरोना संक्रमित प्रदेश सभा सदस्यहरूलाई बस्नको लागि छुट्टै व्यवस्था गरिएको छ। बैठकको सुरुवातमै सभामुख नेत्रनाथ अधिकारीले कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएका सांसदहरुलाई बस्नको लागि विशेष व्यवस्था गरिएको जानकारी दिए।
‘केही माननीय सदस्यहरुको पोजेटिभ रिपोर्ट आएको जानकारी भएको छ। उहाँहरुलाई बस्नको लागि विशेष व्यवस्था गरिएको छ’, उनले भने। गण्डकीका तीन जना प्रदेश सभा सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना परीक्षणपछि मात्रै बैठक सञ्चालन गर्ने सहमतिअनुसार मंगलबारै प्रदेश सभा सदस्यहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।