काठमाडौं–काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण भएका बिरामीलाई अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ।
पछिल्लो समय बढ्दै गएको कोरोना महामारीको जोखिम न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको मंगलबार बसेको विशेष कार्यपालिका बैठकले यससम्बन्धी निर्णय गरेको हो।
बैठकले अन्य खाले बिरामीलाई पनि निःशुल्क एम्बुलेन्स सुविधा दिने निर्णयसमेत गरेको बताइएको छ। ‘हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड भएका बिरामीलाई निःशुल्क अस्पताल पुर्याउनेछन्,’ कामपा प्रमुख विद्यासुन्दर शाक्यले भने।
यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको प्रमुख शाक्यले जानकारी दिए।
नागरिकका समस्या सुनुवाइ गरेर समाधान गर्न महानगरले टोल फ्रि नं ११८० लाई २४सै घण्टा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। यसैगरी, समुदायस्तरमा सचेतना बढाउन शिक्षक परिचालन गर्ने, जोखिमयुक्त स्थानमा निसंक्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र स्थापनाका लागि सहयोग गर्ने निर्णयसमेत बैठकमा भएको छ।
कोभिड नियन्त्रण तथा व्यवस्थापन गर्ने क्रममा विपन्न संक्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई १ लाख, मझौला वडालाई ७५ हजार र साना वडालाई ५० लाख रुपैयाँ निकासा प्रदान गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।