काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले अब सबै कमिटीहरुमा ३५ प्रतिशत महिला राख्ने भएको छ। मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठले पारित गरेको अन्तरिम विधानमा सो व्यवस्था गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। त्यस्तै, पार्टीको सबै समितिहरुको पदाधिकारीमा एक जना महिला अनिवार्य राख्ने निर्णय गरिएको छ।
‘पार्टीको केन्द्रीय कमिटीदेखि वडा र टोलसम्मका कमिटीहरुमा ३५ प्रतिशत महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ। त्यो राष्ट्रिय महाधिवेशनपछि नभई अगाडि नै अबदेखि नै त्यो प्रक्रिया सुरु गरिनेछ,’ उनले भने।
त्यस्तै, केन्द्रीय कमिटीमा उत्पीडित दलित समुदायबाट कम्तीमा १५ प्रतिशत र प्रदेश, जिल्ला र सम्बन्धित पालिकाहरुका समितिमा त्यहाँ रहेको जनसंख्याको प्रतिशतमा दुई प्रतिशत थप गर्नेगरी दलित समुदायलाई विशेष अधिकार सहित सबै समितिमा अनिवार्य प्रतिनिधित्व गराउने निर्णय पनि गरिएको उनले जानकारी दिए।
पार्टीको सबै समितिमा सबै समितिमा ४० वर्षसम्मका युवाहरुलाई कम्तीमा ३० प्रतिशत राख्नैपर्ने गरी निर्णय पनि गरिएको छ।
आजको बैठकले विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेगरी पारित गरेको हो। ‘माओवादी केन्द्रको रुपमा सञ्चालित हुने स्थिति बनेपछि पार्टीको स्थायी कमिटी बैठकले यसअघि देखि नै पार्टीको अन्तरिम विधानमा संशोधन गर्नेबारे छलफल चलाउँदै आएको थियो। आजको स्थायी कमिटीको बैठकले उक्त अन्तरिक विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेगरी पारित गरेको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।