काठमाडौं– कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सर्वोच्च अदालतका सेवाहरुमा कटौती गरिएको छ।
सर्वोच्च अदालतले वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्मका लागि भनेर जरुरी महत्वका बाहेक अन्य विषयसँग सम्बन्धित सेवाहरु कटौती गरेको हो।
अदालतले वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरुको दर्ता र सुनुवाई मात्रै हुने जनाएको छ। सो वाहेकका अन्य कामकारबाही र सेवा स्थगन गर्ने सर्वोच्च अदालतका सहप्रवक्त देवेन्द्र ढकालले जानकारी दिएका छन्।
यस्तै, उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुको हकमा स्थानीय परिस्थिति एवम् जोखिमको अवस्थाको मूल्याङ्कनको आधारमा उपयुक्त देखिएको कामकारबाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधीकरणहरुले मिलाउने सर्वोच्चका प्रवक्त ढकालले जनाएका छन्।
वैशाख १५ देखि वैशाख मसान्तसम्म कामकारबाही तथा सेवा प्रवाह स्थगत भएका अवधिका मुद्दा, रिट तथा निवेदनहरुमा रहेका हदम्याद, म्याद र तारेख गुज्रने छैन।
नयाँ भेरियन्टको कोभिड १९ को महामारीका कारण सिर्जिन पछिल्लो परिस्थितिको मूल्याङ्कन गरी उल्लिखित विषयमा थप निर्णय लिनका लागि वैशाख ३१ गते सर्वोच्च अदालतको पूर्ण बैठक बस्ने पनि सहप्रवक्ता ढकालले जानकारी दिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।