काठमाडाैं- नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएसँगै निषेधाज्ञाको आदेश जारी गर्ने क्रम शुरु भएको छ। मुख्य शहरमा ५०० र अन्य शहरमा २०० जना संक्रमित देखिए निषेधाज्ञा आदेश जारी गर्ने अधिकार जिल्ला प्रशासनलाई दिइएको छ। मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयको आधारमा मंगलबार मात्रै आधा दर्जन जिल्ला प्रशासनले निषेधाज्ञा आदेश जारी गरेका छन्।
बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख ७ देखि निषेधाज्ञा जारी गरिएको थियो। कोरोनाको दोस्रो लहर फैलिएपछि बाँके सबैभन्दा बढी प्रभावित भएको छ। नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र घोषित निषेधाज्ञा जारी छ। नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण वृद्धि भएपछि कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा निषेधाज्ञा जारी गरिएको थियो।
मंगलबारसम्म सक्रिय संक्रमित २०० बढी पुग्ने जिल्ला १५ पुगेका छन् भने १० जिल्लामा संक्रमित ५०० बढी नाघेका छन्। उपत्यका तीन जिल्लामा वैशाख १६ गते बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले एकसाता निषेधाज्ञा गर्ने निर्णय गरेको थियो। तर, सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले निषेधाज्ञा अवधि लम्ब्याउने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार केन्द्रीय राजधानीमा दुई साता निषेधाज्ञा हुने भएको छ।
रुपन्देहीमा १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म हिंडडुल गर्न प्रतिबन्द गरिएको छ। रूपन्देहीमा दुई साता लामो निषेधाज्ञा जारी भएको छ। कैलालीमा बिहीबारदेखि एकसातासम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। कैलालीमा पनि बिहीबारदेखि अत्यावश्यक बाहेकका कार्य गर्न नपाउने गरी निषेधाज्ञा जारी भएको छ।
बिहीबार बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यरात १२ बजेसम्मका लागि पहिलो चरणको निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयले पर्साले पनि मंगलबार सार्वजनिक सूचना निकाल्दै बिहीबार बिहान ४ बजेदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।
दाङ प्रशासनले शुक्रबार बिहान ६ बजेदेखि २५ गते मध्यरातिसम्म नौ दिन लामो निषेधाज्ञा जारी गरेको छ। कास्कीमा बुधबारदेखि निषेधाज्ञा लागू हुने भएको छ। कास्कीमा एकसाताका लागि निषेधाज्ञा लाग्ने भएको छ।
निषेधाज्ञा जारी भएका सबै जिल्लाले अत्यावश्यक बाहेकका सबै कार्यलाई रोकेका छन्। प्रशासनले जारी गरेको निषेधाज्ञालाई उल्लंघन गरे संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।