काठमाडौं– मास्क नलगाई हिँडडुल गर्नेविरुद्ध प्रहरीले कारबाही तीव्र पारेको छ। पछिल्लो २४ घण्टामा देशभर प्रहरीले ११ हजार ७ सय २२ जनालाई नि:शुल्क मास्क वितरण गरेको छ।
मास्क नलगाइ हिँडडुल गर्ने २३ हजार ९ सय ४१ जनालाई होल्डिङ जोनमा राखी सम्झाइ बुझाइ पठाइएको प्रहरीले जानकारी दिएको छ।
तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार ४ सय ६५ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ। साथै मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन प्रहरीले सबैमा अनुरोध समेत गरेको छ।
योसँगै कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुनसक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

माइकिङ र प्लेकार्डसहित पछिल्लो २४ घण्टामा गरिएका ७ सय २ वटा सचेतनामूलक कार्यक्रमबाट १ लाख ४७ हजार २ सय ९५ जना लाभान्वित भएको नेपाल प्रहरीले जनाएको छ।
कोभिड–१९ को संक्रमण रोक्न सरकारद्वारा तोकिएका सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू संचालन गरेको छ।
कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।