काठमाडाैं- लकडाउनको हल्लासँगै लगातार दुई दिन पहिरो गएको सेयरबजारमा आज सकारात्मक उछाल देखिएको छ। आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९२.४६ अंकले बढेर २५९९.०८ विन्दुमा कायम भएको छ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि दोहोरो अंकले बढेको छ। सेन्सेटिभ १४.४८ अंकले बढेर ४६७.२८ विन्दुमा कायम भएको छ।
आज कूल २१६ वटा कम्पनीका एक करोड दुई लाख दुई हजार २१९ कित्ता सेयर ६३ हजार ५५८ पटक खरिद-बिक्री भई पाँच अर्ब १० करोड ९० लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन्। आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर-२०८३ का लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता १.९६ प्रतिशतका दरले गुमाएका छन्।
आज अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै २३ करोड ८२ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक अगाडि रहेको छ। आज उक्त बैंकका तीन लाख ९२ हजार १५५ कित्ता सेयर किनबेच भएका थिए।
नेपाल इन्फ्रास्ट्रक्चरकै सेयर सबैभन्दा बढी चार हजार २५९ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।
आज सबै समूहको परिसूचक उकालो लागेको छ। जीवन बिमा समूहको परिसूचक सबैभन्दा बढी ५५३.६४ अंकले बढेको छ। यस्तै उत्पाद तथा प्रशोधन समूहमा २३९.०३, माइक्रोफाइनान्स समूह २३७.८५, जलविद्युत समूह १५३.०८, विकास बैंक समूह ९३.७६, बैंकिङ समूह ४५.१३, होटल तथा पर्यटन समूह ३९.३५, फाइनान्स समूह ३५.३७, इन्भेष्टमेन्ट समूह ४.३४ तथा म्युचुअल फण्ड समूह ०.१८ अंकले उकालो लागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।