काठमाडाैं- गण्डकी प्रदेश सभाको मंगलबारको बैठक एमालेले अवरुद्ध गरेपछि विपक्षी सांसदहरुले सरकारले कोरोनाको बहानामा सत्ता टिकाउने खेल खेलेको टिप्पणी गरेका छन्।
मंगलबारको बैठक एमाले सांसदले कोरोना परीक्षण नै नगरी बैठक राखिएको भन्दै अवरुद्ध गरेका थिए। उनीहरुले सोमबार पनि यही कुरा उठाएका थिए। देशभर संक्रमणको संख्या वृद्धि भइरहेको र कास्कीमा पनि पाँच सय जना भन्दा धेरै संक्रमित भएको अवस्थामा परीक्षणबिना प्रदेश सभा सञ्चालन गर्न नदिने भन्दै सत्ता पक्षकै सांसदहरुले शुरुमै अवरोध गरेका थिए।
सत्ता पक्षबाटै भएको यो कार्यलाई विपक्षी दलहरुले भने सत्ता जोगाउने नाटक भएको टिप्पणी गरेका छन्। माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारले आफैंले गर्नुपर्ने काम सदनलाई थोपरेर केही दिन सत्तामा टिक्न खोजेको टिप्पणी गरे। कोरोना नियन्त्रण, परीक्षणको काम सरकारले नै गर्नुपर्ने भएपनि सदन चल्न नदिन चाल चलेको उनको आरोप छ।
‘परीक्षण सदनले होइन, सरकारले गर्ने हो। कोरोना भन्दै सदन चल्न नदिने यो अलोकतान्त्रिक कदम हो,’ चुमानले भने ‘हामीले सदन चलाउन हरसम्भव प्रयास गरिरहेका छौं।’
नेपाली काग्रेसका सांसद विन्दुकुमार थापाले सत्ता पक्षले अविश्वासको प्रस्ताव पारित हुने भएपछि नियत राखेर संसद् अवरुद्ध गरेको टिप्पणी गरे। यसले केही दिन सत्ता लम्बिए पनि धेरै लामो यसरी नजाने उनको टिप्पणी छ।
‘अविश्वासको प्रस्ताव छल्नका लागि सत्ता पक्षले नियतवस सदन शुरुमै अवरोध गरेको हो’, थापाले भने, ‘कोरोना परीक्षण सरकारले गर्ने हो। हामी स्वाब दिन तयार छौं। किन अवरोध गरिन्छ?’
कोरोना परीक्षण नै गर्ने भए स्वाब संकलन लगायतका कार्य सरकारले गर्नुपर्ने तर, सरकारकै तर्फबाट अवरोध गरिनुले गलत नियत देखिएको उनको टिप्पणी छ। ‘सत्ता र शक्ति उनीहरुसँग छ, त्यसैले यो नाटक गरियो’ उनले भने ‘भोलिबाट निषेधाज्ञा जारी गरिएकाले यो पनि मिलेमतोमा नियोजित रुपमा गरेको देखिन्छ।’
१३ गते बैठक राख्ने भनेर भनेपछि सरकारले नै पीसीआर गरेर बैठक राख्नुपर्ने उनको तर्क छ। आफूले गर्नुपर्ने काम आफैं नगर्ने अनि संसद्माथि प्रहार गर्ने कार्य भएको विपक्षीहरुको आरोप छ।
जनता समाजवादी पार्टीकी सांसद धनमाया लामा पोखरेलले सरकारले आफ्नै बदनामी हुने गरी काम गरेको बताइन्। सरकार दिनानुदिन बद्नाम बनिरहेको र सत्ताका लागि जे पनि गर्न सक्छ भन्ने प्रस्टाएको उनले थपिन्।
स्वतन्त्र सांसद दीपक मनाङेले सरकारले संसद् अवरोध गर्न नहुने बताए। संसद् बैठक चल्ने अवस्था नदेखेपछि आफू बाहिर निस्केको भन्दै उनले सत्ताका लागि झगडा गर्नु राम्रो नभएको टिप्पणी गरे।
कार्यव्यवस्था परामर्श समितिमा सरकारका प्रवक्ता तथा मन्त्री रामशरण बस्नेतले सदन चल्न दिने सहमति गरेको र अहिले कार्यसूची बनेपनि सत्ता पक्षले नै अवरोध गरेका हुन्।
गण्डकी प्रदेशको विशेष अधिवेशन सोमबारबाट शुरु भएको हो। अधिवेशनको पहिलो दिनको बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले अविश्वास प्रस्ताव पेश गरेका थिए।
होटलमा छलफल गरेका हौं
नेपाली कांग्रेस र माओवादी केन्द्रले होटलमा बसेको स्वीकार गरेका छन्। आफूहरु अविश्वासको प्रस्तावको विषयमा छलफल गर्न होटलमा बसेको तर, बाहिर गलत हल्ला फैलाइएको उनीहरुको जवाफ छ।
कांग्रेस प्रदेश सभा सदस्य थापाले प्रदेश सभा बैठक अघि सामूहिक छलफलका लागि होटलमा बसेको तर, प्रचार गलत भएको टिप्पणी गरे। ‘हाम्रा कुराहरु छलफल गर्नका लागि बसेका हौं’ उनले भने ‘माओवादी केन्द्र र कांग्रेसका साथीहरु बसेका हौं। गलत नियतका साथका प्रचार भएको जस्तो लाग्यो।’
माओवादी सचेतक चुमानले पनि छलफलमा जुटि राख्नुपर्ने भएकाले सबै एकै ठाउँमा बस्दा सहज हुने भएकाले बसेको बताए। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुलाई सोमबार साँझदेखि पोखराको लेकसाइडस्थित एक रिसोर्टमा राखिएको थियो।
गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङविरुद्ध ३२ सांसद देखिएपछि सत्ता पक्षले अवरोधको रणनीति लिएको विपक्षीको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।