काठमाडौं– सत्ता गठवन्धनबारे छलफल गर्न बसेको जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ।
मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। बैठक एक-दुई दिनमा पुनः बस्ने उनको भनाइ छ।
बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए। बैठक चलिरहँदा संघीय परिषद् अध्यक्ष भट्टराई बाहिरिएका थिए। नियमित स्वास्थ्य जाँचका लागि उनी वीर अस्पताल गएका थिए।
कांग्रेस, माओवादीसँग गठवन्धन गर्ने कि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी हुने भन्ने विषयमा नेताहरुबीच बैठकमा सहमति जुट्न नसकेको एक नेताले बताए।
‘पार्टीमा छलफल भएपनि कुनै निर्णय हुन सकेन, एक दुई दिनपछि पुनः छलफल गर्ने सहमति भएको छ तर, दिन भने टुंगो लागेको छैन’ उनले भने।
बैठकमा यादव-भट्टराई पक्षले पार्टी लामो समय अनिर्णीत बस्न नहुने भन्दै कार्यकारीणी समितिको बैठक बोलाउने प्रस्ताव गरेका थिए। तर, अर्का अध्यक्ष ठाकुर र महतोले भने कोरोना संक्रमण बढिरहेको अवस्थामा कार्यकारीणी समितिको बैठक बस्न नहुने बताए।
‘कार्यकारीणी समितिको बैठक बोलाएर जाउँ भन्ने प्रस्ताव आएको थियो’, ति नेताले भने, ‘तर अहिले कोरोना त्रास रहेको बेला बैठक बोलाएर निर्णय गरेर जाने अवस्था छैन भन्ने तर्क नेताहरुले गर्नुभयो, बैठक निष्कर्षमा पुग्न सकेन।’
जसपामा कांग्रेस, माओवादीसँग गठवन्धन गर्ने र ओली सरकारमा सहभागी हुने भन्ने दुई धार देखिएको छ। अध्यक्ष यादव, भट्टराई सरकारबाट ओलीको बहिर्गमनको पक्षमा रहँदा अर्का अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोलगायत भने ओली सरकारकै पक्षमा देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।