काठमाडौं- नेकपा एमालेमा प्रवेश गरेका गण्डकी प्रदेशका प्रदेश सांसद दिपक मनाङ्गेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्ने भएका छन्।
मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी मिलेर दर्ता गराएको अविश्वास प्रस्तावको पक्षमा भोट हाल्ने उनले बताए।
वुधबार मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा भोटिङ हुदाँ विपक्षमा उभिने मनाङ्गेले बताए । नेपाल लाइभसँग कुरा गर्दै मनाङ्गले राष्ट्रिय जनमोर्चासँगै उभिने निर्णय गरेको बताए।
मुख्यमन्त्रीको विपक्षीमा उभिने भएपछि उनले सोमबार नै प्रदेश सभा सचिवालयमा स्वतन्त्र सांसदको हैसियत माग गर्दै निवेदन पनि दिएका छन्।
यसअघि एमालेको लहरमा बस्दै आएका उनी एकाएक स्वतन्त्रको हैसियत माग्दै निवेदन दिन पुगेका थिए। एमाले मनाङ्गेको भोट आफ्नो पक्षमा भएको भन्दै आएको अवस्थामा उनले यस्तो निर्णय गरेका हुन्।
गुरुङको सरकार ढल्ने निश्चित देखेपछि सोमबार स्वतन्त्र सांसदको हैसियत माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएपछि प्रतिक्रिया दिँदै उनले सत्ताका लागि आफूले यस्तो निर्णय नगरेको दाबी गरे।
निर्वाचनमा विजयी भएको करिब २ वर्षपछि प्रदेश सभाको सपथ खाए त्यसलगत्तै उनी नेकपा प्रवेश गरेका थिए। मनाङमा उनी एमाले कै समर्थनमा विजयी भएकाले प्रदेश सभामा पनि उक्त पार्टीको सांसदको भूमिकामा रहेका थिए।
सोमबारवाट सुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएको छ। मनाङ्गे सो प्रस्तावको विपक्षमा उभिने अनुमान गरिएको थियो।
आफू स्वतन्त्र रुपमा विजयी भएसँगै एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि उक्त पार्टीमा लागेको तर, दुवै पार्टी अलग अलग भएकाले आफूले स्वतन्त्र सांसदको हैसियत मागेको मनाङ्गेले नेपाल लाइभसँग बताए।
‘नेकपा हुँदा ठिकै लागेको थियो तर एमाले एकातिर माओवादी अर्कातिर हुँदा कस्तो कस्तो लाग्दोरहेछ,’ उनले भने, ‘मलाई त एमालेतिर बस्न राम्रो लागेन त्यसैले स्वतन्त्रको निवेदन दिएको हुँ।’ मुख्यमन्त्रीमा कसलाई मत दिने त ? भन्ने प्रश्नमा उनले भने, ‘राष्ट्रिय जनमोर्चा जता भोट हाल्छ उतै दिने सोच बनाएको छु।’
जनमोर्चाले लिएको निर्णय ठिक लागेकाले आफूले यस्तो निर्णय गरेको उनले बताए। जनमोर्चाले यसअघि नै मुख्यमन्त्री गुरुङलाई दिएको विश्वासको मत फिर्ता लिएको छ। जनमोर्चाले सरकारका पनि नजाने र गुरुङको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
जनमोर्चाको पछि लाग्ने भन्दै उनले मुख्यमन्त्रीको निरन्तरताको पक्षमा नरहेको बताए। गण्डकी प्रदेशमा एमाालेका मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
गण्डकीमा ३ सिट रहेको जनमोर्चा सत्ताका लागि निर्णायक बनेको छ। तर, जनमोर्चाले मुख्यमन्त्री गुरुङको विपक्षमा उभिने निर्णय केन्द्रीय तहबाट गरेको छ।
गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपा एमालेले आफ्नो २७ र १ स्वतन्त्र गरी मुख्यमन्त्रीको पक्षमा २८ सांसद रहेको दाबी गर्दै आएको थियो। विपक्षी मोर्चामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदसहित ३२ सांसद छन्।
मनाङ्गेले अविश्वासको प्रस्तावको पक्षमा मत दिएमा यो संख्या ३२ हुनेछ। मनाङ्गे यो निर्णयलाई कतिपयले सम्भावित मन्त्रीको रुपमा चर्चा पनि गरेका छन् ।
प्रदेश सभालाई जवाफ दिँदै मुख्यमन्त्री
मुख्यमन्त्री गुरुङले मंगलवार प्रदेश सभामा आफूमाथि लागेका आरोपमा जवाफ दिँदै छन्। अविश्वासको प्रस्तावदेखि ३ वर्षको अवधिमा प्रदेश सभाले गरेका काम बारेमा उनले जवाफ दिने छन्। साथै उनले आफूलाई विश्वासको मत पनि माग्ने छन्।
सत्ता ढाल्न केन्द्रीय नेता नै पोखरामा
माओवादी केन्द्रका केही सांसदहरुले फ्लोर क्रस गर्न सक्ने भन्दै नेपाली काग्रेसले चिन्ता व्यक्त गरेपछि केन्द्रीय नेताहरु नै पोखरा पुगेका छन्। माओवादी केन्द्रका गण्डकी इन्चार्ज देवेन्द्र पौडेल आफै पोखरामा सत्ता गठवन्धन मिलाउन दौडधुपमा रहेका छन्। स्रोतका अनुसार एक सांसद मात्र अनुपस्थित वा फ्लोर क्रस गर्दा परिणाम उल्टो आउने भएकाले उनी आफै समीकरण मिलाउन खटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।