काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा नदिने उनकै क्याबिनेटका एक मन्त्रीले स्पष्ट पारेका छन्। नेपाल लाइभसँग कुरा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अविश्वासको प्रस्तावको सामना गर्ने बताए।
मुख्यमन्त्री गुरुङविरुद्ध गण्डकी प्रदेश सभामा सोमबार अविश्वासको प्रस्ताव टेबल भएको छ। उनको पक्षमा तत्कालै बहुमत पुग्ने सम्भावना विकास नभएकाले गुरुङले राजीनामा दिने चर्चा चलेको थियो। तर, मन्त्री गुरुङले त्यस्तो सम्भावना नरहेको बताए।
‘मुख्यमन्त्रीले आज सभामा जवाफ दिनुहुन्छ। भोलि मतदान होला। हामी अन्तिमसम्म अविश्वास प्रस्तावको सामना गर्ने पक्षमा छौं’, मन्त्री गुरुङले भने।
मुख्यमन्त्री गुरुङ विरुद्ध प्रदेश सभा सचिवालयमा गत वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।
कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ जना सांसद्ले दर्ता गरेको सो प्रस्ताव सोमबारको संसद् बैठकमा टेबल भएर छलफल प्रारम्भ भएको छ। अविश्वास प्रस्तावमाथि आज पनि छलफल हुने कार्यक्रम छ। बुधबार मुख्यमन्त्रीले जवाफ दिने र मतदान गर्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।