काठमाडौं- एनसेल आजियाटा लिमिटेडले लैनचौरस्थित मैदानको निर्माण तथा संरक्षण गर्ने भएको छ। आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलले उक्त मैदान निर्माण गर्न लागेको हो।
यस आयोजनाअन्तर्गत निर्माण हुने खेल मैदानसहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्याउने उदेश्य रहेको कम्पनीले जानकारी दिएको छ।
उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थान लगायतका विशेषता रहनेछ। उद्यान ५४ हजार ९२१ वर्गफिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्ने कम्पनीले जनाएको छ।
‘एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत यो हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ। समझदारीअनुसार, एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइनअनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य गरिरेहको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कम्पनीका अनुसार ग्राउण्ड क्लेरेन्सको कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको छ। परम्परागत ढुङ्गेधारा, उद्यानमा आउने मानिसहरूका लागि पार्किङ, शौचालय सुविधा र सोलार बत्तीको व्यवस्थासमेत उद्यानमा गरिने जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।