काठमाडौं– कोरोना संक्रमणको पहिलो चक्रबाट मुक्ति नपाउँदै शुरु भएको दोस्रो लहरबाट लुम्बिनी प्रदेशको बाँके जिल्ला धेरै प्रभावित बनेको छ। पहिलो लहरका क्रममा पनि प्रभावित जिल्लाको सूचीमा रहेको बाँके अहिले पनि ५०० भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा परेको छ।
बाँकेका ८ वटा स्थानीय तहमा कोरोना भाइरसको संक्रमण उच्च दरमा फैलिएको छ। यसरी संक्रमण उच्च दरमा फैलिएको क्षेत्रमध्ये कोहलपुर नगरपालिका पनि एक हो। कोहलपुर नगरपालिकामा हालसम्म १४ सय ६७ मानिसमा संक्रमण पुष्टि भएको छ। यो नगरका १८ जना कोरोना संक्रमितको ज्यान गएको छ। याे तथ्यांकमा भेरी अस्पतालकाे पछिल्लाे विवरण समावेश भएकाे छैन।
कोहलपुर नगरपालिकाकी उमेयर सञ्जुकुमारी चौधरीका अनुसार नगर क्षेत्रभित्र हाल ३७८ जना सक्रिय संक्रमित रहेका छन्। नगरपालिकाले १२ जना संक्रमितलाई आफैंले निर्माण गरेको अस्थायी कोभिड अस्पतालमा राखेको छ। १ जना डिस्चार्ज हुँदै छन् भने १ जना गम्भीर भएकाले अस्पताल रेफर गरिएको उनले बताइन्।
नगरले अक्सिजनसहितको आइसोलेन निर्माण गरेकाले सबै बिरामी अस्पताल पठाउनुपर्ने अवस्थाको अन्त्य भएको उनले बताइन्। नगरले अहिले कोरोना परीक्षणको दायरा बढाउनेदेखि कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य गरिरहेको उपमेयर चौधरीले बताइन्।

उपमेयर चौधरीका अनुसार कोहलपुर नगरभित्रका सक्रिय संक्रमितमध्ये ३ सय २८ जना होम आइसोलेसनमा रहेका छन्। यीमध्ये अधिकांशमा लक्षणसहितको संक्रमण देखिएको उनले बताइन्। होम आइसोलेनमा बसेका संक्रमितहरुलाई नगरपालिकाले हरेक दिन सम्पर्क गरिरहेको र उनीहरुको अवस्थाबारे अनुगमन गरिरहेको उनले बताइन्। ‘होम आइसोलेनमा रहेका सबै संक्रमितको सम्पर्कमा रहेका छौं, अहिले समस्या वढ्यो भने शुरुमा नगरको आइसोलेसनमा ल्याउँछौ र उपचार गर्छौं’, उपमेयर चौधरीले भनिन्, ‘तीन वटा स्थानमा पीसीआर परीक्षण भइरहेको छ र आइसोलेनमा रहेका बिरामीलाई दैनिक परीक्षणपछि अवस्था जटिल हुँदै गएमात्र नेपालगञ्ज वा भेरी अस्पताल रिफर गर्ने गरेका छौं।’
चिकित्सक छैनन्, स्वास्थ्य सामाग्रीको पनि अभाव
उपमेयर चौधरीले अहिले नगरमा एक जनामात्र चिकित्सक भएकाले समस्या भएको बताइन्। ‘नगरले दुई वटा आइसोलेन सेन्टर सञ्चालनमा ल्याएको र अर्को निर्माणाधीन रहेकाले डाक्टरको अभाव भएको छ,’ उपमेयर चौधरीले भनिन्, ‘प्रदेश र केन्द्र सरकारसँग हाम्रो अनुरोध छ कि, विज्ञ चिकित्सक र औषधि सहयोग गरिदिनु पर्यो।’ अहिले एकजना मात्रै विज्ञ चिकित्सक भएको, तर संक्रमितहरु बढ्दै जाने अवस्थाले बिरामीहरुले उपचारै नपाउने हुन् कि भनेर चिन्ता बढेको उनले सुनाइन्।
थप एक जना मात्रै पनि चिकित्सक पाएमा नगरले आलोपालो गरी काम चलाउने उनको भनाइ छ। नगर कार्यपालिकाले थप चिकित्सक र औषधि, अक्सिजनलगायतका सामग्रीहरु सहयोग गर्न संघीय र प्रदेश सरकारसँग माग गरेको उनले बताइन्। ‘हामीले अहिले अनुरोध गरेका छौं, यदि छिट्टै सहयोग नभएमा हामी करारमा नियुक्ती गर्ने प्रक्रिया शुरु गर्ने छौं’, उनले भनिन्, ‘अवस्था थप जटिल बन्दै जाने भएकाले यसमा रोकिन सकिँदैन।’

सीमा नियन्त्रण भएन, नागरिक बेपरवाह हुँदा फैलियो कोरोना
कोहलपुरकी उपमेयर चौधरीका अनुसार बाँकेमा समुदायस्तरमा कोरोना फैलनुमा मुख्य दुई कारण छन्। उनका अनुसार पहिलो कारण हो, सीमा क्षेत्रबाट प्रवेश गर्ने व्यक्तिमाथि राम्रोसँग निगरानी र नियन्त्रण भएन। भारतबाट बिना रोकावट मानिसहरु आउन थालेपछि समुदायस्तरमा कोरोना फैलिएको उनी बताउँछिन्। ‘सीमा क्षेत्र भएर प्रवेश गर्ने व्यक्तिको राम्रोसँग स्वास्थ्य परीक्षण भएन। स्वास्थ्य परीक्षण नै नगरी सीमाबाट प्रवेश गरेका मानिसहरु गाउँ–गाउँ पुगे’, चौधरीले भनिन्, ‘सीमाबाट प्रवेश गरेका मानिसहरुबाट कोरोना भाइरसको संक्रमण समूदायस्तरमा फैलिन पुग्यो।’
अनि दोस्रो कारण हो, मानिसहरु बेपरवाह बन्नु। उपमेयर चौधरीका अनुसार भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएदेखि नै स्थानीय सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाका लागि स्थानीय नागरिकलाई आग्रह गर्दै आएको थियो। तर, सर्वसाधारणले स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा बेवस्ता गरेको उनले सुनाइन्।
‘मनिसहरुको गतिविधि अनियन्त्रित भए। मास्क लगाउने, सामाजिक दूरी पालना गर्ने, अत्यावश्यक काम बाहेक अन्य समयमा भिडभाड नगर्ने कार्यको पालना भएन,’ उपमेयर चौधरीले भनिन् ‘यसरी एक–दुई हुँदै शुरु भएको संक्रमण अहिले भयावह भएको छ, सायद हाम्रो नियन्त्रणमा छैन होला। छिट्टै चेन ब्रेक हुन नसके अवस्था जटिल नै हुन्छ।’
नगरले यही कुराको ख्याल गर्दै वैशाख ११ गते देखि नै नगरभित्र निषेधाज्ञा जारी गर्न सिफारिस गरेको उनले सुनाइन्। तर, स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय बाँके)ले सोमबार मध्यरातबाट मात्रै निषेधाज्ञा जारी गर्ने भनेर निर्णय गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।
‘बाँके जिल्लाभर नै निषेधाज्ञा लागु भएकाे छ। ११ गतेको बैठकले नै यहाँ लकडाउन गर्न सिफारिस गरेका थियौं, तर ढिला भयो,’ उपमेयर चौधरीले भनिन्, ‘अहिले नियन्त्रण मुस्किल भएकाले अब चेन ब्रेक गर्नै पर्छ। ठूला अस्पतालमा अक्सिजन अभाव भएको छ। संक्रमण देखिएका मानिस मृत्युको मुखमा पुग्न सक्ने अवस्था भएको छ।’ नगरले अहिले पनि स्थानीयलाई जनचेतनाको कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन्। मास्क लगाउन, अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कन प्रचार प्रसार गरिरहेका उनले बताइन्। ‘नगरबासीलाई मेरो अनुरोध छ निषेधाज्ञा पालाना गरौं, केही दिन घरमै बसौं, भिडभाड नगरौ। लापरबारही नगरौं। मास्क लगाऔं। यति गरे मात्र हामी जोगिने छौं’ उपमेयर चौधरीले भनिन्।
उपमेयर चौधरी
केन्द्र र प्रदेशको ठोस सहयोग आएन
कोरोना भाइरस संक्रमणको दोस्रो लहरले स्थिति भयावह बन्दै गएपनि अहिलेसम्म केन्द्र र प्रदेश सरकारबाट संक्रमण नियन्त्रणका लागि ठोस सहयोग प्राप्त नभएको उनले सुनाइन्।
‘यो गम्भीर प्रकारको महामारीमा हामी छौं, नगरको अवस्था भयावह नै छ,’ उनले भनिन् ‘केन्द्र र प्रदेशबाट ठोस सहयोग आएन। तत्काल अन्य क्षेत्रमा आएको, तर खर्च हुन नसकेको बजेट रकमान्तर गरिदिनुस्,’ केन्द्र र प्रदेश सरकारलाई उनको अनुरोध छ, ‘हामीलाई चिकित्सक र औषधि पनि आवश्यक छ, यसको सहयोग केन्द्र वा प्रदेशले दिन पर्यो।’
नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि नगरले आफैं १४ सिलिन्डर अक्सिजन जोहो गरेको उनले बताइन्। यसअघि ४ वटा भएकोमा थप १० वटा खरिद गरेको उनले बताइन्। नगरले औषधि निःशुल्क वितरण गरेको र मास्क वितरणको कार्यक्रम पनि चलाइरहेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।