काठमाडाैं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही रोक्न माग गर्दै सर्वाेच्च अदालतमा दायर गरेको रिट दोस्रो दिन पनि न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ।
आइतबार ढुंगानाको इजलासमा ३०औं नम्बरमा पेशी रहेको थियो। हेर्न नभ्याउने हुँदै सुनुवाइ सरेपछि सोमबार फेरि पेशी तोकिएको हो। यो विवाद अहिले छैटौं नम्बरमा पेशी रहेको छ।
बुधबार एमाले नेता नेपालसहितका चार नेताहरूले कारबाही रोक्न अन्तरिम आदेश माग गर्दै सामूहिक रिट निवेदन पेश गरेका थिए। फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाम विवादमा ऋषिराम कट्टेलको मुद्दामा एमाले र माओवादी केन्द्र ब्युँताएको थियो। नेकपाभित्र जारी रहेको विवाद एमालेमा पनि सरेको थियो।
फैसलापछि ब्युँतिएको एमालेभित्रको कारबाही श्रृंखला रोक्न माग गर्दै वरिष्ठ नेता नेपाल, नेताहरू भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे सर्वोच्च अदालत पुगेका थिए।
सर्वोच्चले बिहीबार उक्त निवेदनलाई वैधानिक रूपमा दर्ता गरेको थियो। उनीहरूले दर्ता गरेको निवेदनमा आफूहरूमाथि गरिएको कारबाही अवैधानिक भएकाले अदालतले अन्तरिम आदेशमार्फत् रोक्नुपर्ने जिकीर गरिएको थियो।
नेपाल पक्षले दायर गरेको रिटमा नेपालसहित २७ जनामाथि गरिएको ‘कथित कारबाही’ बमोजिम राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम आयोग र संसद् सचिवालयमा सूचना दिन लागिएकोले त्यसलाई रोक्न आवश्यक भएको दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।