काठमाडाैं- गण्डकी प्रदेशमा विपक्षी दलबाट 'फ्लोर क्रस' नहुनेमा अविश्वास प्रस्तावकर्ता दलहरु ढुक्क देखिएका छन्।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध विपक्षी तीन दलले दर्ता गरेको अविश्वासको प्रस्ताव सोमबार संसद्मा टेबुल हुँदै छ। दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल सुरु हुनेछ। संसद्को प्रक्रिया सुरु हुने भएसँगै विपक्षी दलले नै 'फ्लोर क्रस' गरेर गुरुङको सत्ता कायम राख्न मद्दत पुर्याउने आशंका पनि सुरु भएको छ।
विपक्षी दलका कुनै पनि सांसदले फ्लोर क्रस नगर्ने कांग्रेस र माओवादी केन्द्रका नेताले दाबी गरेका छन्। अविश्वासको प्रस्ताव १०० प्रतिशत पारित हुने नेपाली कांग्रेसका सांसद कुमार खड्काले दाबी गरे। उनले भने,‘१०० प्रतिशतभन्दा बढी प्रतिशतमा भन्न मिलेन। अविश्वासको प्रस्ताव पारित हुन्छ।’ विपक्षी दलका सांसदले फ्लोर क्रस बजारीया हल्लाको अर्थ नभएको उनले बताए।
कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका सबै सांसदले अविश्वासको प्रस्तावको पक्षमा मत दिए गुरुङको सरकार विस्थापन हुन्छ। बहुमतका लागि ३१ मत आवश्यक पर्दछ। एक जनाले मात्रै फ्लोर क्रस गरेको अवस्थामा अविश्वासको पक्षमा बहुमत पुग्दैन।
माओवादी केन्द्रका सांसदले नै फ्लोर क्रस गर्नसक्ने चर्चा भएको थियो। आफ्नो पार्टीका सांसदले फ्लोर क्रस गर्ने कुरामा कुनै सत्यता नभएको माओवादी केन्द्रका सांसद रामजी बरालले प्रस्टाए। सत्ता पक्षले हराएको निरर्थक हल्ला भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।