फाइल तस्बिर
काठमाडौं– कोरोना संक्रमणको ग्राफ उकालो लागेसँगै जोखिम उच्च बनेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी गर्ने तयारी भएको छ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबारको बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गरेअनुसार उपत्यकाका काठमाडाैं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी हुन लागेको हो।
संक्रमण जोखिम बढेका जिल्लामा बैशाख १५ गतेदेखि निषेधाज्ञा गर्न सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।
पर्यटनमन्त्री भानुभक्त ढकालले आइतबारको सीसीएमसी बैठकले २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका पहाडी क्षेत्र र ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका तराईका जिल्ला तथा शहरी क्षेत्रमा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी नगरे स्थिति नियन्त्रणबाहिर जाने भएकाले सोहीअनुसार गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको नेपाल लाइभलाई बताए।
सीसीएमसीले सरोकारवाला मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरुलाई यससम्बन्धी आन्तरिक परिपत्रसमेत गरिसकेको छ।
सीसीएमसीको प्रस्ताव अनुसार निर्णय गर्न अहिले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ।
प्रस्तावअनुसार भएमा आगामी बुधबार बिहान ६ बजेदेखि यातायातका साधन बन्द हुनेछन् भने आन्तरिक उडानसमेत बन्द हुने सीसीएमसी स्रोतले बताएको छ।
यद्यपि, निषेधाज्ञा जारी भएको अवस्थामा गर्न पाइने तथा नपाइने विषयमा सम्बन्धित जिल्ला प्रशासनबाट निर्देशिका जारी हुने र त्यही अनुसार हुने सीसीएमसी स्रोतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।