काठमाडौं- निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। अन्य समूहतर्फ बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत भएको हो।
स्वीकृत कार्यक्रम बमोजिम वैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दाबी विरोधको उजुरी दिने, वैशाख २२ र २३ गते निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने, वैशाख २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तथा मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख २६ र २७ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख २८ गते उम्मेदवारले नाम फिर्ता लिने र वैशाख २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।
यसअघि माओवादी केन्द्रबाट निर्वाचित भएका रामबहादुर थापा 'बादल' एमाले प्रवेश गरेपछि उनको पद गुमेको थियो। सोही स्थानमा उपनिर्वाचन हुन लागेको हो। राष्ट्रिय सभाको रिक्त स्थानमा ३५ दिनभित्र निर्वाचन हुनुपर्ने प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।