वीरेन्द्रनगर– कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाउन फ्लोर क्रस गरेका नेकपा एमालेका ४ जना प्रदेश सभा सदस्य (सांसद) लाई कारबाही गरिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराइएको छ।
नेकपा एमाले कर्णाली प्रदेश सभाका सचेतक गुलावजङ्ग शाहले सोमबार बस्ने प्रदेश सभामा सुनाउने गरी कारबाहीको पत्र दर्ता गराएको बताए।
४ जना प्रदेशसभा सदस्यहरुले 'दल त्याग गरेको' व्यहोरा उल्लेखित पत्र एमालेले प्रदेश सभा सचिवालयमा दर्ता गराएको हो।
प्रदेश सभा सचिवालयमा दर्ता भएको पत्र सोमबार बस्ने प्रदेश सभाको वैठकमा सुनाएपछि उनीहरु प्रदेश सभा सदस्य (सांसद) पदबाट मुक्त हुनेछन्।
यसरी पदमुक्त हुने प्रदेशसभा सदस्यहरूमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा छन्। मुख्यमन्त्री शाहीको पद जोगाउन फ्लोर क्रस गरेका उनीहरुमध्ये तीन जना अहिले प्रदेश सरकारमा मन्त्री रहेका छन्।
नेकपा एमाले महाधिवेशन आयोजक कमीटीको १० वैशाखमा बसेको बैठकले उनीहरूलाई प्रदेश सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो।
सांसदबाट पदमुक्त भएकाहरुको मन्त्री पद समेत जानेछ। उनीहरुलाई ६ महिनाका लागि मन्त्री बनाउन चाहेमा फेरी सपथ गराउनु पर्ने छ।
संविधानको धारा १७० अनुसार सांसद नभएका व्यक्तिलाई पनि मन्त्री बनाउन सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।