पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सोमबार प्रदेश सभा बैठकमा टेबुल हुने भएको छ।
विपक्षी दलको मागअनुसार आह्वान भएको प्रदेश सभाको विशेष अधिवेशनको सोमबार बस्ने पहिलो बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको हो।
गण्डकी प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको आइतबार बसेको बैठक अविश्वास प्रस्ताव टेबुल गर्ने लगायतका कार्यसूचीका विषयमा टुंगो लगाएको छ।
सोमबारको बैठकमा नेपाल कांग्रेसका प्रदेश सभा सदस्य एवम् संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बोल्ने छन्। यस्तै, बोल्न इच्छुक अन्य दलका सांसदलाई १० मिनेट बोल्ने समय उपलब्ध गराउने विषयमा पनि आइतबारको बैठकमा सहमति जुटेको छ।
सोमबारको बैठकमा सांसदहरुले बोल्ने क्रम सकिएपछि मुख्यमन्त्री गुरुङले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्।
दलका सांसद बोल्ने र मुख्य मन्त्रीको जवाफ सोमबार नसकिए मंगलबार सोही कार्य सूची रहने कार्य व्यवस्था परामर्श समितिका सदस्य एवम् नेपाली कांग्रेसका प्रदेश सांसद कुमार खड्काले जानकारी दिए।
मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि संभवतः मंगलबार अविश्वास प्रस्तावको पक्ष/ विपक्षमा मतदान हुने खड्काको भनाइ छ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सूचना पाएपछि मुख्यमन्त्री गुरुङले यही वैशाख २ गते राति प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए।
मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा अधिवेशन अन्त्य गरेलगत्तै नेपाली कांग्रेससहित ३ राजनीतिक दलका सांसदले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका सांसदले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिएका थिए।
प्रदेश सभाका बहुमत सदस्यहरुको मागअनुसार मुख्यमन्त्री शेरचनले वैशाख १३ गते (सोमबार) दिनको १ बजे बस्ने गरी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।