काठमाडाैं- लकडाउनको हल्लाले सेयर बजारमा पहिरो ल्याएको छ। कोरोना संक्रमण तीव्र बनेसँगै सरकारले लकडाउन गर्ने हल्ला चलेकाले साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट देखिएको हो।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७५.७९ अंकले घटेर २६४८.०१ विन्दुमा रोकिएको छ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि दोहोरो अंकले घटेको छ। सेन्सेटिभ १२.५६ अंकले घटेर ४६४.०५ विन्दुमा कायम भएको छ।
परिसूचक घटे पनि आज कारोबार रकम बढेको छ। आज कूल २१५ वटा कम्पनीका एक करोड ४६ लाख ९० हजार ७२० कित्ता सेयर एक लाख चार हजार ४० पटक खरिद-बिक्री भई सात अर्ब २८ करोड ४१ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले कमाएका छन्। हिमालयन चन्द्रागिरि हिल्स लिमिटेड लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ८.४३ प्रतिशतका दरले गुमाएका छन्। चन्द्रागिरिको सेयर मूल्य घटेर आइतबार एक हजार ९५५ रुपैयाँमा आइपुगेको छ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धेरै ३९ करोड ५२ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक नै अगाडि रहेको छ। आज उक्त बैंकका सात लाख २३ हजार ६५७ कित्ता सेयर किनबेच भएका थिए।
ज्योति लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा बढी २१ हजार ९९४ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।
आज सबै समूहको परिसूचक घटेको छ। कारोबार भएका कम्पनीहरुमध्ये पाँचवटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।