काठमाडौं– सरकारविरुद्ध एक स्थानमा उभिएका गण्डकी प्रदेशका विपक्षी दलको बैठक आज बस्दै छ। सोमबार सुरु हुने संसदको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव पारित गराउने विषयमा छलफल गर्न संयुक्त बैठक बस्न लागेको नेपाली कांग्रेसका सांसद विन्दुकुमार थापाले बताए।
शनिबार सम्पन्न कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीचको छलफलले तय गरेका विषयलाई निष्कर्षमा पुर्याउन आज पुनः राष्ट्रिय जनमोर्चासमेत चार दलको बैठक बस्न लागेको उनले जानकारी दिए।
आजको बैठकले विशेष अधिवेशनमा कसरी प्रस्तुत हुने तथा अविश्वासको प्रस्तावलाई कसरी पास गराउने भन्ने विषयमा छलफल हुने बताइएको छ।
तीन सांसद रहेको राजमोका संसदीय दलका नेता कृष्ण थापा कम्युनिस्ट सरकारको पक्षमा रहेका छन्।
राजमोका अध्यक्ष चित्रबहादुर केसीले आजै पोखरामा पुगेर दलका सांसदसँग छलफल गर्ने कार्यक्रम रहेको छ। केही आन्तरिक कुरामा विमति देखिए पनि अविश्वासको प्रस्ताव पास हुने थापाले बताए।
आजै ११ बजे प्रदेश संसद्को कार्य व्यवस्था समितिको बैठक पनि बस्दै छ। आजको बैठकले सोमबारको विशेष अधिवेशनका लागि कार्यसूची तय गर्नेछ। सोमबार बस्ने पहिलो बैठकमैअविश्वासको प्रस्तावमाथि भोटिङ हुने र निर्णय हुने सांसद थापाको भनाइ छ।
कांग्रेसबाट प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बहुमत पुर्याउन विपक्षी सबै सांसदको मत आवश्यक पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।