काठमाडौं– गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा भएका दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ। सिन्धुली, डोटी, मुस्ताङ, नवलपरासी(पूर्व), इलाम, मोरङ, मकवानपुर, बारा, कञ्चनपुर, पाल्पा र खोटाङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यायले जानकारी दिएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका-१४ चन्दनपुर ढोलीखोलामा प्रदेश २-०१-००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ फलामको रेलिङमा ठोक्किएर शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा दुधौली नगरपालिका-४ डकाहा घर भएका २७ वर्षीय यम कुमर दनुवार र सोही ठाउँ बस्ने १४ वर्षीय आशिष कुमर दनुवारको घटनास्थलमै र सोही ठाउँ बस्ने १० वर्षीय आदित कुमर दनुवारको ओमकृष्ण पोलिक्लिनिक भिमान हुँदै जिल्ला अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा मृत्यु भएको हो।
डोटीको सायल गाउँपालिका-६ र दिपायल शिलगढी नगरपालिका-२ को सिमानास्थित रौखोला भन्ने ठाउँमा बीएस कन्ट्रक्सनको डोजरले रोड फिलिङ गर्ने क्रममा रोडबाट खसेको ढुंगाले लागेर पैदलयात्री सायल गाउँपालिका-६ रौखोला बस्ने ४५ वर्षीय नरी साउदको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। डोजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मुस्ताङको थासाङ गाउँपालिका-४ बादरजुङगे भिरस्थित बेनी जोमसोम सडकमा ग १८ प १५७५ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भइ सडकबाट अन्दाजी ८० मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने ३८ वर्षीय शिवहरि पौडेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लेते स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो।
नवलपरासी (पूर्व)को बुलिङटार गाउँपालिका-६ अत्रौलीमा लु १ ज ३७१० नम्बरको जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार पाल्पा रामपुर नगरपालिका-४ बस्ने २३ वर्षीय अजय बिकको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका अन्य १० जनाको प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँमा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलामको सूर्योदय नगरपालिका-५ गोराखस्थित भित्री सडकमा मे ३ प ९६२० नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भइ शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २३ वर्षीय मुस्कान प्रधानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको फिक्कल अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो।
मोरङको सुन्दरहरैँचा नगरपालिका-१० खोर्साने केराबारीमा को १ ख ६५४७ नम्बरको टिपरले स ३ प ६३०३ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका-९ डाँगिहाट बस्ने २६ वर्षीय सुरेश कुमार चौधरीको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग बस्ने ३४ वर्षीय रुपेश अधिकारीलाई सुकुना सामुदायिक अस्पताल बिराट चोक हुँदै थप उपचारको लागि नोवेल अस्पताल बिराटनगर रिफर गरिएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मकवानपुरको मनहरी गाउँपालिका-९ खरङ्गामा ना ५ ख ४७४० नम्बरको ट्रकले ना १ ह ७१९४ नम्बरको अटोलाई शुक्रबार साँझ ठक्कर दिँदा अटोमा सवार मनहरी गाउँपालिका-९ रजैया बस्ने ३१ वर्षीय कुमार रानामगरको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २ जनालाई उपचारको लागि चुरेहिल अस्पताल लगिएको छ। हाल फरार ट्रक चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
बाराको निजगढ नगरपालिका-११ कासघाटमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।
कञ्चनपुरको बेतकोट नगरपालिका-३ दैजीमा म २ प ५१७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बेतकोट नगरपालिका-२ बस्ने ४० वर्षीय जुगलाल डगौराको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय लक्ष्मण चौधरीको सोही अस्पताल हुँदै थप उपचारको लागि धनगढी रिफर गरिएको छ।
पाल्पाको निस्दी गाउँपालिका-५ स्थित ढुङ्गाबेशीमा लु ४ त ६९८१ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरका सहचालक सोही गाउँपालिका-४ बस्ने १९ वर्षीय टेक बहादुर जर्गामगरको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ कदुवामा बा ३ ख ९२८५ नम्बरको बस सडकबाट अन्दाजी १५ मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा बसका सह-चालक अन्दाजी २५ वर्षीय अनिल तामाङको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका बसमा सवार २२ जनालाई उपचारको लागि उदयपुर कटारीतर्फ पठाइएको छ।
दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।