काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्काएको धरहरा पुन: ठडिएको जनाएको छ।
शनिबार(भोलि) बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा धरहरा उद्घाटन गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।
कोरोना महामारीले धरहरा पुनर्निर्माणमा समस्या आएको भएपनि स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु पालना गरी कामलाई तिव्रता दिएको उनले बताए।
भूकम्पले क्षति हुनु अघि ९ तला रहेको धरहरा पुनर्निर्माणपछि २२ तले बनाइएको छ। धरहराको २० औं तलाबाट काठमाडौंका क्षेत्रहरु दृष्यावलोकन गर्न सकिने शहरी विकास तथा भवन निर्माण विभागका महानर्दिेशक मणिराम गेलालले जानकारी दिए।
धरहरा पुनर्निर्माण सम्पन्न भए पनि उक्त क्षेत्रको बाँकी संरचनाहरुको निर्माण कार्य भने जारी नै रहने उनले जानकारी दिए। भूकम्पअघि अव्यवस्थित रहेको धरहरामा पार्किङ र भूकम्प सग्रांलयहरु जस्ता भवनहरुको निर्माण गरी व्यवस्थित गरिने भएको छ।
जिआइइटिसि रमन जेभीले ३ अर्ब ४८ करोडमा धरहरासहितको संरचना बनाइरहेको महानिर्देशक गेलालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।