काठमाडाैं- नेकपा (एमाले)को सुनसरी इन्चार्जको आकांक्षी भागवती चौधरीले जिम्मेवारी नपाएपछि बालुवाटार बैठकबाट बाहिरिएकी छन्। शुक्रबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको बालुवाटार बैठकमा सहभागी चौधरी बैठक अन्त्य नहुँदै निस्किएकी हुन्।
सुनसरीको सहइन्चार्जको जिम्मेवारी उनले बहिष्कार गरेकी हुन्। इन्जार्जको जिम्मेवारी जगदीश कुशवाहालाई दिएपछि उनी पार्टी नेतृत्वप्रति आक्रोशित भएकी हुन्। अब राजनीतिमा पनि नलाग्ने उनले प्रष्टाइन्।
सुनसरीको इन्चार्जको जिम्मेवारी मागेको लामो समय भएपनि पार्टीले वेवास्ता गरेको भन्दै नेतृत्वप्रति उनले वितृष्णा व्यक्त गरिन्। ‘मलाई किन जिम्मेवारी दिइएन प्रवक्ता प्रदीप ज्ञवालीलाई सोध्नुस्। किन भगवतीजी पार्टी बैठक छोडेर हिंड्नुभयो? उहाँलाई किन असन्तोष भयो?’ प्रवक्तालाई सोध्न उनले आग्रह गरिन्।
पार्टी अध्यक्ष ओलीलाई ‘बा/बा’ भनी कहिले नथाक्ने आफूलाई किन जिम्मेवारी दिइएन प्रवक्तालाई नै सोध्न उनले आग्रह गरिन्। बैठकका निर्णयमा हस्ताक्षर नगरी उनी बाहिरिएकी थिइन्।
भूगोलमा जिम्मेवारी माग्दा नेतृत्वले आफ्नो मागलाई वेवास्ता गरेपछि बैठक छोडेर निस्केको उनले नेपाल लाइभसँग बताइन्। ‘एकताकै बेलादेखि मैले जिल्ला इन्चार्ज मागेकी थिएँ। सँगैका सबै साथीहरू इन्चार्ज भए। म सहइन्चार्ज बसिरहँनू?’ उनले नेतृवलाई प्रश्न गरिन्।
गत प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस उपसभापति विजय गच्छदारसँग झिनो मतले चौधरी पराजित भएकी थिइन्। संसद्मा गच्छदार आवश्यक रहेको भन्दै पार्टीकै नेताहरू आफूलाई हराउन लागेको उनले बताइन्। ‘पार्टीभित्रकै अन्तरविरोध गराउनेले मलाई हराएका हुन्। पार्टीका नेताहरूले अहिलेसम्म आँखै नदेख्ने? योग्यता र क्षमता भएकालाई बनाएका हुन् भने ठिकै छ।’
सहइन्चार्ज पद उनले अस्वीकार गरेकी छन्। सह इन्चार्जमा नराख्नू भनी आफैले भनेको उनले बताइन्। जिम्मेवारी नदिइएपनि पार्टीको अर्को खेमा माधवकुमार नेपाल पक्षमा भने आफू नजाने उनले स्पष्ट पारिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।