काठमाडौं– रामबहादुर थापा (बादल)को राष्ट्रिय सभा पद गुमेसँगै रिक्त हुन आएको स्थानमा जेठ ६ गते उपनिर्वाचन हुने भएको छ। बिहीबार निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै बागमती प्रदेश 'अन्य' समूहका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचन हुन लागेको जानकारी दिएको छ।
'राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ (पैतीस) दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गरिने कानूनी व्यवस्था बमोजिम नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो', आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आयोगले राजनीतिक दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको लागि संवत् २०७८ साल बैशाख १० गतेदेखि १४ गतेसम्म कार्यालय समयभित्र आयोगमा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिन सूचना गरिएको छ।
निर्वाचन आयोगले उक्त घोषणा अनुसार बिहीबारदेखि उपनिर्वाचन तयारी सम्बन्धी कार्य प्रारम्भ गरेको जानकारी दिएको छ।
माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित बादल एमाले प्रवेश गरेपछि माओवादीले उनको सांसद् पद खोसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।