काठमाडौं- नेकपा एमालेका सांसद् दीपकप्रकाश भट्टले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीमा पार्टी विधान र देशको संविधान नमान्ने शैली रहेको बताएका छन्।
सांसद भट्टले आफूहरुले भनिरहेको पार्टीको पुनर्गठन भनेको वैचारिक विषय भएको बताए। 'पार्टी विधान नमान्ने, देशको संविधान नमान्ने पार्टीमा हामी पुग्यौं नि अब। त्यसैले पुनर्गठन विचारमा गर्नुपर्यो', उनले भने।
उनले पार्टीका लागि सबैभन्दा ठूलो कुरा पार्टी विधान नै भएको समेत उल्लेख गरे। 'त्यो मान्छौं भनेर हिँडेको मान्छेले त मान्नुपर्यो नि। बाधा छ भने पनि सबै बसेर फुकाउने होला। नभए विधान संशोधनको लागि विधान महाधिवेशन चाहिने होला', नेपाल लाइभसँग अन्तर्वार्ताको क्रममा भट्टले भने, 'ओलीले केन्द्रीय कमिटी भन्नुभएको छ। केन्द्रीय कमिटी पनि बसेको छैन। ८८ जनालाई त खबर पनि गर्नुभएको छैन। त्यसकारण उहाँको शैली नै पार्टी विधान र देशको संविधान नमान्ने रह्यो। त्यसैले हाम्रो नेतृत्वमा आएको यो विचलनलाई ठीक गर्न पुनर्गठन गर्नुपर्छ भनिएको हो।'
उनले आफूले नयाँ पार्टी गठन नगरेको र त्यस्तो गतिविधिमा नलागेको तर 'नयाँ पार्टी बनाएर किन पार्टी विरोधी गतिविधि गरेको' भनेर सोधिएको भन्दै अस्तुष्टि जनाए। 'मलाई कारबाही भयो भने कसैका पछाडि लाग्ने भन्दा पनि मैले आफूले दिने चुनौती दिन्छु', उनले भने।
भट्टसँगको अन्तर्वार्ता बिहीबार साँझ नेपाल लाइभको फेसबुक पेजबाट प्रशारित हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।