काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिएको विषयमा टिकाटिप्पणी भइरहेको छ। प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्ने, नयाँ गठवन्धनका लागि पहल पनि गर्ने तर, सरकारलाई दिएको समर्थन फिर्ता पनि नलिने भन्दै माओवादी केन्द्रमाथि कतिपयले प्रश्न गरिरहेका छन्।
समर्थन फिर्ता लिए ओलीले मुलुकलाई निर्वाचनतर्फ लैजाने र उनको नेतृत्वमा घोषित निर्वाचन नहुँदा मुलुक झन् अन्योलतिर जाने भन्दै समर्थन फिर्ता लिन माओवादी केन्द्र हच्किइरहेको छ।
बुधवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले त्यसबारे टुंगो लगाउने अनुमान गरिए पनि बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ। माओवादी किन यसबारे निर्णय गर्न सकिरहेको छैन? माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग नेपाल लाइभले गरेको संक्षिप्त कुराकानीः
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन खोजिरहनु भएको छ, तर सरकारलाई दिएको समर्थन फिर्ता लिन पनि डराइरहनु भएको छ, किन ?
अहिलेको राजनीति अन्योलग्रस्त नबनाउन समर्थन फिर्ता लिएका छैनौं। हाम्रो पार्टीले राजनीतिक परिस्थितिको आकलन गरिहेको छ। देशमा प्रतिगमनको षडयन्त्र अगाडि बढाउनको निम्ति पहिलो कदमको रुपमा प्रतिनिधि सभा विघटन गरिएको थियो। र, संविधानमाथि आक्रमण गरिएको थियो। प्रतिनिधि सभा पुनर्स्थापनापछि संविधान लिकमा आएको छ। तर, प्रतिगमनको खतरा बाँकी नै छ।
सर्वोच्च अदालतको दोस्रो आदेशले अस्थिरतातिर लैजाने योजना बुनेको प्रस्ट छ। त्यसमा थप अरु निरंकुश कदमहरु चालेर राज्यलाई पूरै एकलौटी गर्ने प्रवृत्तिहरु देखा परेका छन्। यो स्थितिमा पुनर्स्थापित प्रतिनिधि सभा पूरै अवधिसम्म सञ्चालन होस् भन्ने उद्देश्य राखिएको छ। अहिलेको सरकारलाई राखेर त्यो हुन सक्दैन भन्ने विश्लेष्ण छ। यो सरकारलाई विस्थापित गरेर अर्को सरकार बनाउन राजनीतिक दलहरुबीच छलफल चलिरहेको छ। त्यसको निम्ति एउटा निष्कर्षमा पुगिसकिएको छैन्। हामीले त्यसको लागि पहल र प्रयत्न जारी राखेका छौं। त्यो सकारात्मक दिशातिर अगाडि बढ्न खोज्दैछ। तर, निर्णायक विन्दुमा पुगिसकेको छैन। हामी चाहन्छौं त्यो निर्णायक विन्दुमा पुगोस् र राजनीतिक अन्योलको अन्त्य हुनेगरी अगाडि बढोस्।
माओवादीले समर्थन फिर्ता लिएलगत्तै प्रधानमन्त्रीले चुनाव घोषणा गर्छन् भनेर समर्थन फिर्ता नलिएको भन्न खोज्नु भएको ?
मैले अघि नै भनिसकें, हामी संसद् पूरा अवधि चलोस् भन्ने चाहन्छौं। यसकारणले राजनीतिक पार्टीहरुसँग छलफल चलाइराखेका छौं। अहिले हामीले समर्थन फिर्ता लिएलगत्तै प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ। प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त नहुने स्थिति बन्छ। संविधानको धारा ७६ मा जाने, विश्वासको मत प्राप्त नहुने र चुनावको दिशातिर जाने स्थिति बन्छ। र, चुनावको घोषणा भएर चुनाव भए त हुन्थ्यो। चुनाव पनि नहुने दिशातिर देश जाने खतरा देखिएको छ। त्यसबाट हामी देशलाई बचाउन चाहन्छौं।
त्यसो भए कहिलेसम्म समर्थन फिर्ता लिनु हुन्छ? कि समर्थन गरिराख्नुहुन्छ?
स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने अधिकार अध्यक्ष कमरेड प्रचण्डलाई दिएको छ। परिस्थितिको आकलन गरेर माओवादीले छिटो भन्दा छिटो समर्थन फिर्ता लिन्छ। हामी समर्थनको स्थितिलाई यथावत रहन दिदैँनौ। तर, सकेसम्म राजनीतिक अन्योलको स्थिति र प्रतिगमनको खतरा अन्त्य होस् भन्ने हामी चाहन्छौं। त्यसकारणले परिस्थितिको आकलन गरेर समर्थन फिर्ता लिन्छौं। अहिले समर्थन नरहेको जानकारी दिन मात्र बाँकी हो। कहिलेसम्म भन्नेबारेमा राजनीतिक अन्योलको स्थिति नहोस्, संसद वाँकी अवधिसम्म चलोस्, प्रतिगमन विरुद्धको आन्दोलन सफल होस् भनेर हो। अरु राजनीतिक पार्टीहरुसँग छलफलको क्रममा भएकाले यसलाई त्यो रुपमा प्रस्तुत नगरेका हौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।