काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अपरेशन’लाई अवैध ठहर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) अध्यक्ष कमल थापाले असन्तुष्टि व्यक्त गरेका छन्।
विहीवार थापाले एक ट्वीट गर्दै स्टिङ अप्रेशनले भ्रष्टाचार रोक्न मद्दत गरेको बताएका छन्। अदालतको फैसलाबाट भ्रष्टाचारीको मनोबल बढ्ने थापाको भनाइ छ।
कमजोरी सुधार गर्नुको सट्टा भ्रष्टाचार रोक्ने एक सशक्त माध्यनै खारेज गर्नु उपयुक्त नभएको थापाको भनाइ छ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘केही कमजोरी भएपनि स्ट्रिङ अपरेशनले भ्रष्टाचार रोक्न मद्दत गरेको थियो।ठाडै घुसलिन डराउंथे। स्ट्रिङ अपरेशन रोक्ने अदालतको फैसलाबाट भ्रष्टाचारीको मनोबल बढ्छ।कमजोरी सुधार गर्नुको सट्टा भ्रष्टाचार रोक्ने एक सशक्त माध्यम नै खारेज गर्नु उपयुक्त होइन।’
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित ५ जना न्यायाधीशको बुधबारको संवैधानिक इजलासले अख्तियारको स्टिङ अपरेशन रोक्न माग गर्दै दायर गरेको रिट जारी हुने फैसला सुनाएको थियो।
अधिवक्ता विष्णु्प्रसाद घिमिरेले २०७४ पुस २ गते अख्तियारको स्टिङ अपरेशन रोक्न माग गर्दै सार्वजनिक सरोकारको रिट निवेदन दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।