काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता जोगाउन आग्रह गरेका छन्।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छुट्टाछुट्टै भेटमा नेपाल पक्षका नेताहरुले पार्टी दुई टुक्रा हुने स्थितिमा पुगेकाे भन्दै एकता लागि पहल गरेका हुन्।
दिउँसो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल पक्षका नेता योगेश भट्टराईलाई भेटेका थिए। त्यसको केही समयपछि नै उनले ओलीलाई भेटेका हुन्। करिब डेढ घण्टा भएको भेटमा भट्टराईले ओलीलाई मिलेरै जान सुझाव दिएको एक नेताले बताए।
‘भेटमा योगेश भट्टराईले पार्टीको एकता जोगाउन मिलेरै जान केपी शर्मा ओलीलाई आग्रह गर्नुभयो। जेठ २ मै फर्किएर सहमति गर्न र पार्टीलाई एकतावद्ध बनाउन अध्यक्षले नै पहल गर्नुपर्ने उहाँले सुझाव दिनुभयो,’ उनले भने।
बालुवाटारमा भट्टराईसँगको भेटपछि ओलीले नेपाललाई भेट्न बोलाएका थिए। उनीहरु दुईको भेट काठमाडौंको नागपोखरी-नक्सालमा रहेको मेरियट होटलमा भएको थियो।
भेटमा नेपालले पार्टीको एकता जोगाउन र आफ्ना २७ संघीय सांसदमाथि कारबाही नगर्न आग्रह गरेको ओली निकट नेता कृष्ण राईले बताए। ‘माधव नेपालले भेटमा आफू निकट सांसदलाई कारबाही नगर्न र पार्टी एकता गरेर जान आग्रह गर्नुभएको छ,’ उनले भने।
अध्यक्ष ओलीले मंगलबार पार्टीको नीति निर्देशन विपरित गतिविधि गरेको भन्दै २७ संघीय र ५ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोधेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।