काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। दुई बीच बालुवाटारमा भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गरेका हुन्।
ओलीले भट्टराईसहित २७ प्रतिनिधि सभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्टै उनी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।
भट्टराईसहित माधव नेपाल पक्षले मंगलबार भेला गरेर ओलीले सोधेको स्पष्टीकरणको जवाफ फर्काउने निर्णय लिएको थियो। व्यक्तिगत रुपमा सोधिएको स्पष्टीकरणको जवाफ पनि व्यक्तिगत रुपमै फर्काउने तयारी सो पक्षको छ।
प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दा भट्टराई पर्यटनमन्त्रीको जिम्मेवारीमा थिए। त्यसपछि भने उनले अन्य मन्त्रीसँगै सामूहिक राजीनामा दिएका थिए।
भट्टराईको सो कदमलाई ओलीले 'बैगुनी' भन्दै 'पुक्क लात्तले हानेर' भागेको बताएका थिए। नेपाल पक्षका नेता भएपनि ओलीका कदमप्रति पछिल्लो समय भट्टराई मौन प्रायः छन्। जसका कारण उनी ओलीतिर नजिकिएको नेपाल समूहका नेताहरुले नै आशंका गर्न थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।