गोरखा– नयाँ प्रकार (भेरियन्ट)को कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्न थालेपछि गोरखास्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजा बन्द गरिने भएको छ।
कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द गरिने भएको हो । जिल्लास्तरीय कोभिड-१९ व्यवस्थापन समिति (डीसीएमसी)को मंगलबार बसेको बैठकले गरेको निणर्यानुसार मनकामना र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द गरिन लागिएको हो।
डीसीएमसीको बैठकले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च, लगायतका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्राथनाबाहेक सम्पुणर् पूजाआजा बुधबारबाट वैशाख मसान्तसम्म बन्द गर्ने निणर्य गरेको थियो ।
डीसीएमसीको बैठकले बुधबारदेखि नै मठ-मन्दिरमा नित्य बाहेकका पूजा नगर्ने निणर्य गरेपनि मनकामना मन्दिरमा भने बुधबार दर्शनार्थीको भीड लागेको छ।
अब बिहीबारदेखि निणर्य कार्यान्वयन गरेर नित्य बाहेकका अन्य पूजा बन्द गरिने मनकामना क्षेत्र विकास समितिका सचिव लेवेन्द्र गुरुङले बताए।
‘आज (बुधबार) त काठमाडौंसहित देशका विभिन्न ठाउँबाट भक्तजन आइसक्नुभएको छ, केवलकारमा पनि बिहानैदेखि भक्तजनको भिड छ,’ गुरुङले भने, ‘आज नै पूजामा रोक लगाइहाल्ने अवस्था छैन, सूचना जारी गरी भोलि (बिहीबार)बाट बन्द गर्छौं ।’
मनकामना मन्दिरमा वैशाख मसान्तसम्म वा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणका लागि पूजा बन्द गरिने उनले बताए।
सचिव गुरुङका अनुसार पछिल्लो समय मनकामना मन्दिरमा दर्शन तथा पूजाका लागि दैनिक सरदर ४ हजारसम्म भक्तजन पुग्ने गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।