काठमाडाैं- नयाँ सदस्यता वितरण र नवीकरणमार्फत् नेपाली कांग्रेसको १४औं महाधिवेशनमा २५ करोड बढी रकम पार्टीको खातामा जम्मा हुने भएको छ।
बुधबारसम्म १५ करोड २८ लाख ३५ हजार ४०० रूपैयाँ पार्टीको नाममा जम्मा हुने गरी सदस्यको सूचीकरण भएको छ।
वैशाख १५ सम्मका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि समय तोकिएकाले उक्त रकममा थप वृद्धि हुनेछ। हालसम्म ६० प्रतिशत मात्रै सदस्य सूचीकृत भएका छन्। १४औं महाधिवेशनमा १० लाख क्रियाशील सदस्य बनाउने निर्णय पार्टीले गरेको छ।
१० लाख सदस्य पुग्दा पार्टीको खातामा २५ करोड बढी रकम थपिने भएको छ। बुधबारसम्मको तथ्यांक अनुसार ६ लाख १७ हजार २४९ जनाको ‘इन्ट्री’ गरिएको छ। त्यसमध्ये २ लाख ९३ हजार ८२६ जना नयाँ सदस्य हुन्। कांग्रेसको नयाँ सदस्यले प्रतिव्यक्ति तीन सय शुल्क बुझाउनुपर्दछ। त्यसअनुसार नयाँ सदस्यबाट ८ करोड ८१ लाख ५० हजार ८०० रूपैयाँ संकलन भएको छ।
३ लाख २३ हजार ४२३ जनाले पुरानो सदस्यता नवीकरण गरेका छन्। नवीकरणका लागि प्रतिव्यक्ति दुई सय तोकिएको छ। त्यसअनुसार नवीकरणवापत ६ करोड ४६ लाख ८४ हजार ६०० रूपैयाँ जम्मा भएको छ। नयाँ सदस्य र नवीकरणका लागि अत्यधिक रकम बढाइएकाले पार्टी खातामा २५ करोड बढी जम्मा हुने भएको छ। पार्टीका तल्लो तहका सबै संरचनाले सदस्यता शुल्क र लेवी रकम वैशाख १७ गतेसम्म पठाउन निर्देशन दिइएको छ।
कांग्रेसले १३औं महाधिवेशनको तुलनामा यसपटक नयाँ र नवीकरणका लागि अत्यधिक रकम वृद्धि गरेको छ। १३औं महाधिवेशनमा नवीकरणका लागि १० रूपैयाँ शुल्क थियो भने नयाँ सदस्यका लागि ११० रूपैयाँ तोकिएको थियो।
नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ वैशाख १५ गतेभित्र गरिसक्नुपर्ने निर्णय पार्टीले गरेको छ। यसपटक थपिएको समयावधि अन्तिम भएको पार्टीले जनाएको छ। वैशाख १५ को मध्यरातबाट कम्प्युटर सफ्टवेयरमा ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतः बन्द गरिने केन्द्रीय समितिले निर्णय गरेको छ।
नवीकरणको अधिकार जिल्ला कार्यसमितिलाई दिइएको छ। नयाँ सदस्यता वितरणको अधिकार क्षेत्रीय कार्यसमितिलाई छ। नयाँ सदस्यता वितरणवापत संकलन भएको रकम क्षेत्रीय कार्यसमिति र नवीकरणमार्फत् संकलन भएको रकम जिल्ला कार्यसमितिले केन्द्रलाई पठाउनुपर्नेछ।
यसपटकदेखि जिल्ला कार्यसमिति र क्षेत्रीय समितिले पार्टीले सञ्चालनमा ल्याएको सफ्टवेयरमा नामावली सूचीकरण गर्नसक्ने प्रणालीको विकास गरिएको छ। १५ गते पछि स्वतः सफ्टवेयर बन्द हुने भएकाले त्यसपछि आएका नामहरू इन्ट्री नहुने कांग्रेस केन्द्रीय कार्यालयका कार्यालय सचिव प्रदीप पराजुलीले जानकारी दिए।
२०७ स्थानबाट नामावली पठाउनुपर्नेमा हालसम्म १७७ स्थानबाट मात्रै क्रियाशील सदस्यता सूचीकृत भएको बताइएको छ। सिन्धुपाल्चोक र सप्तरी जिल्लामा हालसम्म क्रियाशील सदस्यता वितरणको प्रकृया नै शुरु भएको छैन। साथै बारा र सोलुखुम्बुमा ढिलो गरी वितरण शुरु भएकाले यी चार जिल्लामा वैशाख मसान्तसम्म इन्ट्री गर्न सक्ने सुविधा दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।