काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोग र अकुत सम्पत्ति आर्जन सम्वन्धीमा दुई वटा भ्रष्टाचार मुद्दा खेपिरहेका राजश्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई सातदिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।
अख्तियारले गोरखापत्रमार्फत सूचना जारी गर्दै बयानका लागि उपस्थित हुन भनेको छ।
मौखिक रूपमा पटक–पटक बयानका लागि बोलाउँदा नआएपछि अख्तियारयले बुधबार सार्वजनिक सूचना नै जारी गरी शर्मालाई सात दिनभित्र उपस्थित हुन भनेको हो।
विभागमा रहँदा कर फर्छ्यौटका लागि सम्झौता भएका विभिन्न करदाताहरूलाई गैरकानुनी तरिकाले छुट दिई भ्रष्टाचार गरेको उजुरीको अनुसन्धानका लागि उपस्थित हुन अख्तियारले भनेको हो।
‘‘उपस्थित हुन नआएमा कानुन बमोजिम भई जाने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ‘ सूचना प्रकाशित भएको सातदिनभित्र अख्तियारको कोठा नम्वर ११४ मा सम्पर्क राख्न हुन भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार यो सूचना प्रकाशित गरिएको छ।’
अख्तियारले पटक पटक ताकेता गरेर बयान लिन नसकेमा सार्वजनिक सूचना जारी गर्ने गरेको छ।
अख्तियारले यसअघि शर्मालाई कर फस्र्योट विवादमै १० करोडको विगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध ४ करोड बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । दुवै मुद्दामा उनी विशेष अदालत उपस्थित भई धरौटीमा रिहा भएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।