नाटकमा रमाउने समूह मिलेर छोटो फिल्म ‘नसोध’ सार्वजनिक गरेका छन् । करिब ४ मिनेटको छोटो फिल्ममा एक गर्भवती महिलाको मनस्थिती देखाउने कोशिस गरिएको छ।
सबैले छोरा जन्माउँछिन् भनेर गरेको अनुमानले गर्भवती महिलामा कस्तो मनोवैज्ञानिक असर पर्छ भन्ने कुरा फिल्ममा देखाउन खोजिएको छ।
समाजमा जानेर या नजानेर गर्भवती महिलाको शरीर, उसले देखेको सपना लगायतको आधारमा छोरा जन्मन्छ या छोरी भनेर अनुमान गर्ने गरिएको छ। फिल्ममा यिनै समाजिक कुरा उठाइएको छ।
फिल्मको कथामा सासूले सम्धिनीसँग फोनमा उनीहरुको ग्रहले छोरा भनेको छ भन्ने कुरा उल्लेख गरिएको छ। त्यस्तै, छिमेकीले सपनामा काँक्रा, मेवा देखेमा छोरो नै हुन्छ भन्ने देखाइएको छ। उनै छिमेकीले जिउ छरितो छ, छोरै हुन्छ भनिएको छ।
घरब्यवहारमा फसेका महिला मात्रै होइन, हेर्दा आधुनिक देखिएकी उनकी साथीलेसमेत पेट हेर्दा त छोरै पाउला जस्तो छ भन्दै उनको गर्भावस्थाबारे टिप्पणी गरेको फिल्ममा देखाइएको छ।
होटलमा खाजा खाएको बिल बुझाउँन जाँदासमेत उनको गर्भावस्ताबारे टिप्पणी गरिएको छ।
जानेर या नजानेर गर्भासयमा भएका बच्चाबारे जन्मनुअघि नै गरिएको अनुमानले गर्भवती महिलाको मस्तिष्कमा पुग्ने असर नै फिल्म ‘नसोध’ को मुख्य कथा हो।
नाटक लेखक तथा निर्देशक घिमिरे युवराजले यो छोटो फिल्म निर्देशन गरेका हुन्। त्यसैले फिल्ममा पनि नाटकमा प्रयोग भएजस्तै बिम्बहरु देख्न सकिन्छ। उदाहरणका लागि उनले सुरुमा फक्रेको फूल देखाएका छन्। अर्थात बिम्बात्मक रुपमा महिलाको गर्भावस्थालाई फक्रेको फूलसँग तुलना गरिएको हो। त्यस्तै सबैले छोरै होला भनेर भनिरहँदा झ्यालमा पुरुषहरु छोरा लेखेको प्लेकार्ड बोकेर उभिइरहेका देख्न सकिन्छ। यसले एक महिलाको दिमागमा कसरी छोरा भन्ने शब्द बसेको छ भन्ने बिम्ब देखाउँछ।
छोटो फिल्मलाई लुना भट्टराइले लेखेकी हुन्। जीवन आलेले खिचेको फिल्ममा पवित्रा खड्का, दिवेन कार्की, मन्जु गिरी शर्मा, गीता भट्टराई, गोविन्द ओली, रविन परियार, ज्याक बराल, अस्मिता घिमिरे, राज पुर्तेल, सुमन राई, राजेश थापा, बिबेक चौलागाईँ, बिनोद नगरकोटी, सविता थिङ, सुमित भण्डारी, रोजल मान बज्राचार्य, दिनेश श्रेष्ठ, शम्भु बहादुर बुढाथोकी र घिमिरे युवराजको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।