काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
देउवालाई भेट्न खनाल र नेपाल मंगलबार अपराह्न बुढानीलकण्ठ पुगेका थिए। देउवाको निजी निवासमा भएको भेटवार्तामा नेताहरुबीच सत्ता समीकरणको विषयमा छलफल भएको स्रोतले जानकारी दियो।
कांग्रेस सभापति देउवा पछिल्लो समय भावी सत्ता समीकरणबारे नेताहरुसँगको छलफलमा ब्यस्त छन् ।
कांग्रेसले अरु दलसँगको सहयोगमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने चर्चा चलिरहँदा खनाल र नेपालले देउवालाई उनको निजी निवासमै पुगेर गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सभापति देउवा समेत तयार हुँदा नेपाली कांग्रेस ओली नेतृत्वको सरकार विस्थापित गर्ने विषयमा ‘एकमत’ देखिएको छ ।
सरकारलाई समर्थन गरिरहेको नेकपा माओवादी केन्द्र पहिलेदेखि नै ओलीलाई विस्थापित गरेर नयाँ सरकार गठन गर्ने ‘अभियान’मा छ ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार जोगाउन जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई विश्वासमा लिने प्रयास गरिरहेका छन् ।
तर, पछिल्लो समय प्रदेशहरुमा देखिएको राजनीतिक समीकरणले प्रधानमन्त्री ओलीलाई आफ्नै दल एमालेको खनाल-नेपाल समूहका सांसदको समर्थन प्राप्त नहुने सम्भावना बढेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।