काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक भोलि (बुधबार) पनि बस्ने भएको छ।
मंगलबार बसेको बैठकमा कार्यसूचीका विषयमा छलफल भएपनि कुनै निणर्य नभएकाले बुधबार पनि बैठक बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेता श्रेष्ठका अनुसार बुधबार बस्ने बैठकका लागि विभिन्न विषयसँग सम्बन्धित ६ बुँदे कार्यसूची तयार गरिएको छ।
बुधबारको बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्नेछन्। यस्तै, विभिन्न जिम्मेवारीमा रहेका स्थायी कमिटी सदस्यहरुले पनि बुधबारको बैठकमा रिपोर्टिङ गर्ने जनाइएको छ।
बुधबारको बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव तथा यसअघि गठन गरिएको संगठनात्मक कार्यदलको कामबारे छलफल हुने छ। यस्तै, आगामी केन्द्रीय कमिटी बैठकबारे पनि बुधबार बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने छ।
बुधबारको बैठकमा नयाँ सरकार गठन र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनको विषयमा पनि छलफल हुने नेता श्रेष्ठले जानकारी दिए।
बुधबारको बैठकमा सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेको, कोभिडको दोस्रो लहर तथा विभिन्न पार्टीसँग भइरहेको राजनीतिक वार्ताबारे पनि छलफल हुने श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।