काठमाडौं– जसपाको लुम्बिनी प्रदेश अध्यक्ष रविकुमार मिश्राले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रीको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई पार्टीले कुनै प्रकारको कारबाही नगरेको बताएका छन्।
पार्टीको निर्देशनमा नै उनी सरकारमा सहभागी भएको बताउँदै मिश्राले उनीहरुमाथि कुनै प्रकारको कारबाही नहुने बताएका हुन्। उनीहरुलाई कारबाही गर्ने भनेर पार्टीको अर्को समूहले जारी गरेको सुचनालाई उनले तानाशाही प्रवृत्तिको संज्ञा दिएका छन्।
यसअघि लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोक कुमार यादवले एक विज्ञप्ति जारी गर्दै सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिए सांसद पदसमेत नरहने गरी कारबाही प्रक्रिया अघि बढाइने बताएका थिए। उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख थियो।
योसँगै जसपाको दुई समूह लुम्बिनी प्रदेशमा पनि स्पष्ट देखिएको छ । उपेन्द्र यादव तथा बाबुराम भट्टराई समूह सरकारमा सहभागीलाई कारबाही गर्नुपर्ने पक्षमा देखिएको हो भने महन्थ ठाकुर समूह सरकारको बचाउमा देखिएको हो। केन्द्रमा पनि ठाकुर समूह ओली सरकारमा सहभागी हुनुपर्ने बताउँदै आएको छ भने यादव समूह ओलीसँग सरकार्य गर्न नसकिने बताउँदै आएको छ।
सोमबार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तर, अविश्वास प्रस्ताव दर्ता गरेको केहीबेरमा जसपाका ४ जना नेताहरु मन्त्री नियुक्त भएका थिए।
उनीहरुले सोमबार नैप्रदेश प्रमुख धर्मनाथ साहसमक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। सन्तोष पाण्डेलाई भौतिक भौतिक पूर्वाधार र कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसैगरी, विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सुमन शर्मा रायमाझीलाई भौतिक राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।