काठमाडौं- एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका नेता विष्णु रिजाल पनि सहभागी भएका छन्। बैठक सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। सो बैठकलाई नेपाल-खनाल पक्षले बहिष्कार गरेको छ।
रिजाल नेपालपक्षका सक्रिय नेता थिए। उनी नेपालनिकट नेता हुन्। नेपाल प्रधानमन्त्री हुँदा उनी प्रेस सल्लाहकार थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले ओलीको आलोचना गर्दै नेपालपक्षको अभियानलाई साथ दिँदै आएका थिए।
नेता रिजालले पछिल्लो समय भने समाजिक सञ्जालमा पार्टी एकता र प्रधानमन्त्री ओली नेतृत्वको सरकारको निरन्तरताको पक्षमा लेख्दै आएका थिए।
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले उद्घाटन मन्तव्य दिने तथा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावलगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ।
यसअघिको एमालेको केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तर गरेपछि आज पहिलोपटक बैठक बस्न लागेको हो। बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।