काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्विरुद्ध ठूलो घेराबन्दी भइरहेको बताएका छन्। पत्रकार महासंघको पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले आफू सभामुखका रूपमा राष्ट्रिय हितका पक्षमा उभिएदेखि नै यस्तो घेराबन्दी भएको बताएका हुन्।
उनले भने, ‘जुनदिनदेखि राष्ट्रिय हितका पक्षमा निर्भिकतापूर्वक संघीय संसद् उभियो, त्यही दिनदेखि घेराबन्दी शुरु भयो । निकै ठूलो घेरोबन्दी भइरहेका छन्।’
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सर्वदलीय बैठकमा बोलेको विषयतर्फ लक्षित गर्दै अनेक टिप्पणी भइरहेको बताएका छन्। प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई अराजक र अनैतिक रहेको आरोप लगाएका थिए।
उनले प्रधानमन्त्री ओलीतर्फ लक्ष्य गर्दै भ्रम सिर्जना गर्न लागिपरेको बताए। उनले स्पष्ट पारे, ‘मलाई यति विश्वास छ कि धेरै मान्छेलाई केही समय भ्रममा पार्न सकिन्छ। केही मान्छेलाई सँधैका लागि भ्रममा पनि पार्न सकिन्छ तर, सँधै सबलाई भ्रममा राख्न सकिँदैन।’
उनले प्रधानमन्त्री ओली र आफ्नो व्यक्तिगत टकराव नभइ संस्थागत टकराव रहेको पनि संकेत गरे। उनको भनाइ छ, ‘बहस भइरहेको छ। यो बहस व्यक्ति विशेषको होइन। व्यक्ति–व्यक्तिबीचको टक्कर हो कि भन्ने लागिरहेको होला। तर, त्यस्तो होइन।’
आफूले प्रधानमन्त्री ओलीका टिप्पणीमा प्रतिक्रिया नदिनु नै राम्रो भएको उनको भनाइको सार थियो। ‘मलाई खुशी कहाँनेर छ भने मैले मेरा भनाइ व्यक्त गरिरहेको छैन। भन्नेले के भन्छन्, वास्ता गरेको छैन।’
आफूले जे गरेपनि जनता र देशको हितलाई सम्झेर गरेको बताए। आफू तटस्थ बस्न चाहेपनि आफ्ना पक्षमा काम नगरेकोमा केहीलाई चित्त दुखाइ रहेको उनको भनाइ छ। उनले थपे, ‘आफ्ना पक्षमा काम गरिदेओस् भन्ने चाहने केही छन्। मेरो पक्षमा काम गरेन भन्ने चाहना अन्तरनिहीत भएको म मान्छु । म देश र जनताप्रति पूरै निष्ठाका साथ काम गर्नेछु।’
आफूले कसैको दबाब र प्रभावमा काम नगर्ने उनको स्पटोक्ति छ। आफ्नो विवेक र चेतनाको निर्देशनअनुसार चलिरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।