काठमाडौं- किपालय प्रोडक्सनले प्लान इन्टरनेसनलसँग मिलेर १० जना महिलालाई डकुमेन्ट्री फिल्म मेकिङको ज्ञान दिने भएको छ। प्लानको विश्वव्यापी अभियान ‘गल्स गेट इक्वेल रिप्रेजेन्टेसन’ अन्तर्गत महिलालक्षित डकुमेन्ट्री कार्यशाला हुन लागेको हो।
नेपाली फिल्महरूमा महिलाको चरित्र चित्रण अस्वाभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको छ। महिलासम्बन्धी थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र फिल्म निर्माणमा महिलाको संख्या बढाउने उद्देश्यले कार्यशाला गर्न लागेको आयोजकले जनाएको छ।
कार्यशालाकी प्रबन्ध निर्देशक आश्मा पोखरेलले कार्यशालाका लागि देशभरबाट आवेदन मागिने र यसरी आएका आवेदनबाट १० जनालाई छनोट गरिने जानकारी गराएकी छिन्।
‘महिला फिल्ममेकरलाई फिल्म निर्माणमा आधारभूत ज्ञान दिने उद्देश्यले यो कार्यशाला गर्न लागेका हौं। यसमा फिल्म निर्माणमा रूचि हुने देशभरका महिला फिल्मकर्मीले सहभागिताका लागि आवेदन दिन सक्नुहुनेछ,’ आश्माले भनिन्।
उनका अनुसार कार्यशालाको समयावधि एक महिनाको रहनेछ। कार्यशाला काठमाडौं र चित्लाङ गरी दुई ठाउँमा सम्पन्न हुनेछ। उनले कार्यशालामा फिल्म निर्माणको धेरथोर अनुभव भएका महिलालाई प्राथमिकता दिइने जानकारी गराइन्।
किपालयका प्रोजेक्ट हेड नवविजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिको प्रयोग गरी कार्यशाला सञ्चालन गर्ने जनाए। ‘छानिएका १० जनालाई हामीले पहिलो चरणमा काठमाडौंमै फिल्ममेकिङका आधारभूत ज्ञान दिन्छौं र दोस्रो चरणमा मकवानपुरको चित्लाङमा साँच्चिकै फिल्म कसरी बनाउने भन्ने बारेमा सिकाउँछौं,’ उनले भने।
कार्यशालामा १८ देखि २४ वर्षभित्रका महिलाले आवेदन दिन सक्ने छन्। इच्छुक फिल्मकर्मीले यही अप्रिल २३ अर्थात् आउँदो शुक्रबारसम्ममा निवेदन सक्ने आयोजकले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।