काठमाडौं– ६ जनाको ज्यान जाने गरी जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका आरोपितले सर्वोच्चमा दायर गरेको रिटको आइतबार सुनुवाइ हुँदै छ। जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने निर्देशन दिएसँगै करिब दुई दर्जन आरोपित जिल्लाको आदेशविरुद्ध उच्च अदालत गएका थिए।
धरौटीमा छाड्ने वा जिल्लाकै आदेश सदर गर्ने भन्नेबारे उच्चमा राय बाझिएको थियो। त्यसपछि उक्त रिट सर्वोच्चसम्म पुगेको हो। धरौटीमा रिहा हुनपर्ने माग राख्दै २० जनाले दायर गरेको उक्त रिटमाथि आइतबार सुनुवाइ हुँदै छ। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त पेशी परेको छ।
सौरभ पुन, मोहन पुन मगर, सन्तोष मल्ल, भीमबहादुर पुन, विनोद मल्ल, तुलबहादुर मल्ल, रेशमबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, डम्बरबहादुर मल्ल, तिलक चन्द, विराज पुन मगर, टोपबहादुर मल्ल, मानबहादुर मल्ल, धनराज राना, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन, नविनकुमार घर्ती मगर,नेत्रबहादुर मल्ल र दुई नाबालकसहितले दायर गरेको रिटको सुनुवाइ हुन लागेको हो।
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो।
तल्लाे जातको केटा भएको भन्दै किशोरीका परिवारले उनीहरुको विवाह अस्वीकार गरेको आरोप छ। त्यसपछि केटीकै आग्रहमा नवराजसहित १९ जना युवालाई लिएर किशोरी लिन जेठ १९ गते उनको घर जाँदा परिवार र स्थानीयले लखेटीलखेटी कुटेर हत्या गरेको आरोप लागेको छ।
कुटाइकै क्रममा नवराजको मृत्यु भएपछि नदीमा फालेको आरोप नवराजको परिवारको छ। घटनामा नवराजसहित टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार तथा सञ्जु विक, भेरी नगरपालिका–११ का गोविन्द शाही मारिएका थिए।
उनीहरुको पोष्टमार्टम रिपोर्टमा शरीरभर निलडाम देखिएको उल्लेख थियो भने मृत्युको कारण पानीमा डुब्नु उल्लेख थियो। यस घटनामा ३४ जनालाई प्रतिवादी बनाइएको थियो । ती मध्ये ५ जना फरार थिए। भने ३ जना साधारण तारेखमा रिहा भएका थिए भने दुई नाबालकलाई सुधारगृह पठाइएको थियो। १ जना १ लाख धरौटीमा रिहा भएका थिए।
सम्बन्धित समाचार–
रुकुम घटना : फरार पाँच प्रतिवादी अदालत उपस्थित, जिल्ला अदालतले पठायो थुनामा
रुकुम घटना : मारेरै भेरीमा फालेका हौं [किशोरीका दाजुको बयान]
रुकुम घटना : फेसबुकमा 'ब्लक' गरेकी थिएँ, भाइको मोबाइलबाट कुरा गर्थें [नवराजकी प्रेमिकाको बयान]
रुकुम घटना : को छुटे? को थुनामा गए? [सूचीसहित]
रुकुम घटना : वडाध्यक्षसहित २३ जनालाई थुनामा पठाउन अदालतको आदेश, किशोरीकी आमा १ लाख धरौटीमा रिहा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।