काठमाडौं- रुकुम पश्चिमको चौरजहारी घटनामा संलग्न भएको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर भएपछि फरार रहेका पाँच अभियुक्त अदालतमा हाजिर भएका छन्। ६ जना युवाको ज्यान जानेगरी भएको उक्त घटनामा संलग्न भएको भनी सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेपछि उनीहरुलाई फरारी देखाइएको थियो।
नवराज विकसहितका ६ जना युवा विककी प्रेमिका लिन रुकुम जाँदा गाउँलेहरुले उनीहरुमाथि आक्रमण गरी हत्या गरेको अभियोगपत्र जिल्ला अदालत रुकुम पश्चिममा दायर भएको थियो।
उनीहरूविरुद्ध जातीय विभेद, कर्तव्य ज्यानसहित तीन अभियोगमा मुद्दा दायर भएको थियो। फरार रहेका बाहेक ३० जनाको हकमा यसअघि जिल्ला अदालतले आदेश सुनाइसकेको थियो। उनीहरुको नाममा पनि जिल्ला अदालतले फरारी म्याद पठाएको थियो। जिल्ला अदालतले खोजी थालेपछि उनीहरु आफैं अदालत उपस्थित भएका थिए।
बुधबार जिल्ला अदालतले चौरजहारी घटनाका फरार ४ जना अभियुक्त पुर्पक्षका लागि थुनुवामा पठाउने आदेश गरेको छ। जिल्ला अदालत रुकुम पश्चिममा मंगलबार भएको अभियुक्तको बयान र वादी प्रतिवादीका वकिलहरुको थुनछेक बहसपछि उनीहरुलाई थुनामै पठाउने आदेश गरेको हो।
जिल्ला अदालत रुकुम पश्चिमका निमित्त श्रेस्तेदार लक्ष्मण विकका अनुसार यसअघि एक जना पुर्पक्षका लागि थुनामा गएका थिए र थप ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो। ‘मंगलबार नै जिल्ला अदालतमा हाजिर भएका ४ जना अभियुक्तलाई बयान र थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ’ श्रेष्तेदार विकले भने‚ ‘उनीहरुलाई धरौटी वा तारेखमा छोड्ने प्रमाण नपुगेकाले थुनामा राखिएको हो।’ थुनामा जानेमा चौरजहारी नगरपालिका- ८ रुकुम पश्चिमका तुलराम घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन र डिल्ली घर्ती रहेका छन्।
५ जना फरारको सूचीमा रहेकामध्ये भिमबहादुर घर्ती असार २८ गते जिल्ला अदालत रुकुम पश्चिममा आफैं हाजिर भएपछि २८ गतेको बयान र बहसपछि पर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको थियो। योसँगै चौरजहारी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये ३० जना पुर्पक्षका लागि थुनुवामा गएका छन्। जसमा २ जना नाबालक रहेको र उनीहरुलाई बालसुधार गृहमा राखिएको छ। जिल्लाले ३ जनालाई साधारण तारिख र १ जनालाई एक लाख धरौटीमा छोड्ने आदेश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।