काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने बताएका छन्। शनिबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै ज्ञवालीले बैठकमा माओवादी केन्द्रको तर्फबाट सहभागिता नजनाइएको विषयलाई लिएर त्यस किसिमको प्रतिक्रिया दिएका हुन्।
माओवादी केन्द्रलाई बैठकबारे खबर नभएको भन्नेबारे पत्रकारको जिज्ञासामा मन्त्री ज्ञवालीले भने- 'हिजो व्यापकै थियो त कार्यक्रममा हुँदा-हुँदै प्रचण्डले भन्नुभयो रे- प्रधानमन्त्रीको फोन आयो मलाई। खबर थिएन भन्नु बेकारको कुरा हो। उहाँहरु किन आउनुभएन। किन यस्तो गैरजिम्मेवार बाटो हिँड्दै हुनुहुन्छ। त्यो उहाँहरुले जान्ने कुरा हो। उहाँहरुले थाहा पाउनुपर्छ, उहाँहरु नहुँदा पनि देशचाहिँ चल्छ।'
बैठकमा माओवादी केन्द्रका तर्फबाट कोही पनि सहभागी थिएनन्। कांग्रेस, जसपा, राप्रपा, नेमकिपा, राजमोको तर्फबाट नेताहरु सहभागी थिए।
बैठकमा प्रधानमन्त्रीले कोभिड, उपनिर्वाचन तथा एमसीसीको विषयमा चर्चा गरेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी थिए। 'सर्वदलीय बैठकमा प्रधानमन्त्रीले कोभिडकै बारेमा के गर्ने भनेर विषय राख्नुभयो। रिक्त पदहरुको उपनिर्वाचनको बारेमा कुरा राख्नुभयो। त्यस्तै, एमसीसी कसरी पास गर्ने सम्बन्धमा सहमतिका कुराहरु गर्नुभयो। प्रधानमन्त्री अहिलेका यिनै विषयहरुमा राष्ट्रिय सहमति कसरी बनाउने भन्दा हामीले हाम्रो कुराहरु राख्यौं,' बैठकपछि पौडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।