काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ‘एनआईबीएल समृद्धि फण्ड-२’ नामको बन्दमुखी सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालनमा ल्याउने भएको छ। एक अर्ब २० करोड रूपैयाँको उक्त कोष सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डले बैंकलाई अनुमति दिएको छ।
१० वर्ष अवधिको यस योजनामा सर्वसाधारणले आईपीओमार्फत् लगानी गर्न पाउने छन्। कूल निष्काशन गरिने एकाइको २० प्रतिशत अर्थात् दुई करोड ४० लाख एकाइ सुरक्षित राखी बाँकी न्यूनतम नौ करोड ६० लाख एकाइ सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ। प्रतिएकाइ १० रूपैयाँ दरको १२ करोड एकाइमध्ये वीज पुँजीबापत १० लाख एकाइ योजना व्यवस्थापक तथा न्यूनतम दुई करोड ३० लाख इकाइ कोष प्रवद्र्धकका लागि छुट्याइनेछ।
यस योजनामा लगानी गर्ने लगानीकर्तालाई वार्षिक प्रतिफलको रूपमा २१.४३ प्रतिशत दिनसक्ने प्रक्षेपण गरिएको छ।
‘यस योजनाको अवधिभर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रही इकाइ बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनीकरणका उपायहरू अपनाइ विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरूमा लगानी गरिनेछ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सो लगानीबाट आर्जित मुनाफा एकाइधनीहरूलाई वार्षिक प्रतिफलको रूपमा वितरण गरिने यस योजनाको उदेश्य रहेको छ।’
यस योजनाका एकाइहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई योजनाको अवधिसम्म दोस्रो बजारमासमेत खरिद-बिक्री गर्न सकिने छ।
इन्भेष्टमेन्ट बैंक यो फण्डको मुख्य प्रवर्द्धक रहेको छ भने बैंकको सहायक कम्पनी एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहनेछ।
नेपालको पुँजीबजारमा सामूहिक लगानी कोषअन्तर्गत विभिन्न योजना सञ्चालन गर्ने उदेश्यले बैंकले ‘एनआईबीएल म्युचुअल फण्ड’ नामको सामूहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुईवटा बन्दमुखी र एउटा खुलामुखी योजना सञ्चालन गर्दै आइरहेको छ। ‘एनआईबीएल म्युचुअल फण्ड’ को पहिलो योजना ‘एनआईबीएल समृद्धि फण्ड-१’ का लगानीकर्तालाई हालसम्म ६३.५ प्रतिशत नगद लाभांश वितरण गरिएको बैंकले जनाएको छ। सात वर्षको उक्त योजना आगामी आर्थिक वर्षमा अवधि पूरा भई बन्द हुनेछ।
‘पहिलो योजनाको उत्कृष्ट प्रतिफल साथै आमलगानीकर्ताहरूको विश्वासलाई निरन्तरता दिने उद्देश्यका साथ बैंकले एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने चौथो योजनाको रूपमा ‘एनआईबीएल समृद्धि फण्ड(२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न लागेको हो,’ विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।