काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै स्वयं सरकारको नेतृत्व राष्ट्रिय हित विरुद्ध लागेको बताएका छन्।
बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिता उद्घाटनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्। बिहीबारदेखि 'भाइरल सम्झौता'तर्फ संकेत गर्दै उनले जनताको प्रतिष्ठा, आत्मसम्मान र राष्ट्रिय स्वधीनतामाथि प्रश्न उठाउने दुस्साहस भएको बताए।
उनले भने, 'हिजोआज समाचार हेर्नुभयो भने देशलाई बन्दकी राख्ने, राष्ट्रिय हितका विरुद्ध षडयन्त्र गर्ने काममा स्वयं सरकारको नेतृत्व लाग्ने खबर देखिन्छ। देश र जनताको प्रतिष्ठा, आत्मसम्मान, राष्ट्रिय स्वधीनतामाथि प्रश्न गर्ने दुस्साहस भएको छ। यो नेपाली जनतालाई यो स्वीकार्य छैन।'
बिहीबारदेखि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुख सामन्त गाेयलबीच भएकाे भनिएकाे सम्झाैताकाे विषय चर्चित भएकाे छ। यसकाे पक्षविपक्षमा बहस जारी छ।
प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै उनले तानाशाही एकचोटि परास्त भए पनि पूरै परास्त अझै नभएको बताएका छन्। अझै षड्यन्त चलिरहेको उनले उल्लेख गरेका छन्।
उनले भने, 'जनताले लोकतन्त्र विरोधी गणतन्त्र विरवधी कदम स्वीकार गरेनन्। सवै विज्ञ, नागरिक र जनता यसको विरोधमा गए। अन्तत: अदालतले प्रतिनिधी सभा पुन:स्थापना गर्ने निर्णय गर्यो।'
प्रगति विरोधी तथा राष्ट्र विरोधी तत्वहरु इतिहास पछाडि धकेल्ने प्रयासमा रहेको उनले बताए। त्यो नेपालमा मात्रै नभई विश्वमै रहेको उनको भनाइ छ। उनको भनाइ छ, 'अहिले पनि नेपालमा केहीले इतिहासलाई पछाडि धकेल्ने कोशिस गरेका छन्। केही मानिसले त्यस्तो सपना देख्छन्। उनीहरु संघीयता खारेज गर्ने र स्थानीय तहको अधिकार केन्द्रमा ल्याएर निश्चित व्यक्तिलाई पोस्ने योजनामा छन्।' यसलाई परास्त गर्न सवै क्षेत्रबाट लागिपर्नपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।