काठमाडाैं–गण्डकी प्रदेशका मुख्यममन्त्री पृथ्वी सुब्बा गुरुङले अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन्। मुख्यमन्त्री बनाउने र हटाउने काम प्रदेश सभाको हो भन्दै गुरुङले प्रदेश सभामा अविश्वासको प्रस्तात दर्ता भएमा डटेर सामना गर्ने बताए।
गण्डकी प्रदेश सभामा रहेका नेकपा एमाले बाहेकका सबै दल एकै ठाउँमा उभिएर सरकार प्रतिस्थापन गर्न एक जुट भएसँगै सरकार ढल्ने निश्चित भएपछि गुरुङले यस्ताे टिप्पणी गरेका हुन्।
बिहीबार उनीविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता हुँदै छ। नेपाल लाइभसँग कुरा गर्दै उनले अविश्वास प्रस्ताव पारित गर्न सहज नभएकाे दावी गरे। प्रदेश सभाको निर्वाचनमा जाँदा नै एमाले र माओवादी मिलेर चुनाव लडेकाे स्मरणा गर्दै उनले त्यति बेला जनतालाई वामपन्थीको नेतृत्वमा स्थिर सरकार दिने बाँचा गरेको स्मरण गरे।
जनताले त्यही नारालाई विश्वास गरेर मतदान गरेकाे र वामपन्थीलाई दुई तिहाइ नजिक पुर्याएकाे उनले दावी गरे। गुरुङले भने, ‘वामपन्थी नेतृत्वको सरकारविरुद्ध अविश्वास गरेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने प्रयास गर्नु प्रतिगामी कदम हो।’
प्रदेशमा अस्थिरता सृजना गर्न खोज्ने काम भएकाे टिप्पणीसमेत उनले गरे। विकास निर्माणका कामले गति लिइरहेको बेला सरकार परिवर्तनको प्रयास भइरहेको भन्दै गुरुङले प्रदेशका जनताले यो षड्यन्त्रको मूल्याङ्कन गर्ने विश्वास पनि व्यक्त गरे।
सत्ता र स्वार्थलाई केन्द्रमा राखेर ल्याउन लागेको अविश्वासको प्रस्तावको आफ्नो दलले डटेर सामना गर्ने र त्यो प्रस्तावलाई फेल गराउन प्रयास गर्ने समेत उनले बताए।
कुल ६० सांसद् रहेकाे प्रदेश सभामा राष्ट्रिय जनमाेर्चाले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए। गण्डकीमा एमालेकाे २८ सिट रहेकाे छ।
नेपाली काग्रेस र माओवादी केन्द्रका बीचमा लुम्बिनी प्रदेश र गण्डकीमा सरकारकाे नेतृत्वमा सहमति भएकाे छ। केन्द्रमा पुष्पकलम दाहाल र शेरबहादुर देउवाबीच गण्डकीमा कांग्रेस र लुम्बिनीमा माओवादी केन्द्र नेतृत्वमा सरकार गठन गर्ने सहमति भउकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।