मुम्बई- ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार दोस्रो जित निकालेको छ। बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंग्लोरले दोस्रो जित निकालेको हो।
बैंग्लोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो। हैदरावादका लागि कप्तान डेभिड वार्नरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३७ बलमा ७ चाैका र एक छक्का हाने।
यस्तै मनिस पाण्डेले ३९ बलमा २ चाैका र २ छक्का हान्दै ३८ रन जोडे। यता राशिद खानले १७ रन बनाए। उनले ९ बलमा एक छक्का र एक चाैका हाने। जोनी बेयर्स्टो १२ रनमा आउट भए भने अन्यले दाेहाेराे अंक छुन सकेन।
२ ओभरमा ७ रन खर्चिएका बैंग्लोरका शाहबाज अहमेदले ३ विकेट लिए। मोहमद सिराजले २ विकेट लिए। उनले ४ ओभरमा २५ रन खर्चिए। यस्तै हर्षत पटेलले ४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए। केली जेमिसनले ३ ओभरमा ३० रन दिएर १ विकेट हात पारे।
यसअघि चेन्नईस्थित एमए चिदंबरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो।
बैंग्लोरका लागि ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४१ बलमा ५ चाैका र ३ छक्का प्रहार गरे।
यस्तै कप्तान बिराट कोहलीले २९ बलमा ४ चाैकाका साथ ३३ रन जोडे। शाहबाज अहमेदले १४ तथा केली जेमिसनले १२ रन बनाउँदा देबदुत पडिकलले ११ रनकाे याेगदान दिए।
हैदरावादका जासन होल्डरले ३ विकेट लिए। उनले ४ ओभरमा ३० रन खर्चिए। ४ ओभरमै १८ रन खर्चिएका राहिद खानले २ विकेट हात पारे।
यता भुवनेश्वर कुमार,शाहबाज निदम र टी- नटराजनले एक-एक विकेट लिए। उनीहरुले ४ ओभरमा क्रमश: ३०, ३६ र ३२ रन खर्चिए।
खेलकाे म्यान अफ दी म्याच म्याक्सवेल घाेषित भए।
जितसँगै बैंग्लोर लिगको शीर्ष स्थानमा उक्लिएको छ। उसले चार अंक जाेडेकाे छ। यस अगाडि उद्घाटन खेलमा बैंग्लोरले साविक विजेता मुम्बई इन्डियन्सलाई दुई विकेटले पराजित गरेको थियाे।
यता, हैदरावादले दुवै खेलमा हार व्यहाेरेकाे छ। पहिलो खेलमा हैदरावाद कोलकत्ता नाइट राइडर्ससँग १० रनले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।