काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै आन्दोलनको टुप्पामा बस्नेलाई दु:ख, कस्ट, जेल-नेल के हो भन्ने थाहा नहुने बताएका छन्। बुधबार ‘लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रममा’ बोल्दै ओलीले आन्दोलनमा लागेका योद्धाको पीडा आन्दोलनको टुप्पा बसेकाले बुझ्न नसक्ने टिप्पणी गरे।
‘आन्दोलनको टुप्पामा बसेर दु:ख, कस्ट नगरेर एक दिन जेल नपरि एक दिन भूमिगत नभई विदेशमा राम्रै प्रबन्ध गरेका ठाउँहरूमा बसेर आफू आन्दोलनको नेतृत्व गरेको भन्न मिल्दैन। अरु बेहाल भइँरहदा तिनीहरूको वास्ता नगर्ने प्रवृत्ति आन्दोलनमा भयो’ ओलीले भने, ‘दु:ख भोग्दै नभोगेको, कहिल्यै पिटाइ खाएको छैन। कहिल्यै जेल गएको छैन। कहिल्यै नेल हतकडी लगाउनु परेको छैन। कहिलै भोकै बस्नु परेको छैन। क्रान्तिकारी कुरा गरेर मात्रै हुँदैन।’
अरुलाई बहकाएर आन्दोलनमा होमाउनेले वास्तविक मान्छेको पीडालाई बुझ्नै नसक्ने ओलीले जिकिर गरे। खाना नदिएर डेढ महिना थुनेर राख्दा कस्तो पीडा हुन्छ भन्ने आफूले भागेको बताए।
‘खानै नदिएर डेढ महिना थुनेर लगातार कुटपिट गर्दा कस्तो हुन्छ? कोही मान्छे देख्न-भेट्न नपाउनेगरी ४ वर्षसम्म अँध्यारा कोठाभित्र लगेर थुन्दा कस्तो हुन्छ? परिवार आफन्तबाट विछोडिएर जेलमा बस्दा कस्तो हुन्छ? हामीले भागेका छौं’ ओलीले भने।
धेरैजसो घाइते योद्धाको निरन्तर उपचारको खाँचो भएकाले त्यसतर्फ राज्यले ध्यान दिने उनको प्रतिवद्धता छ। आवासविहीन योद्धाहरूका लागि भूमि मन्त्रालय र भूमि आयोगबाट व्यवस्था गरिने प्रधानमन्त्रीले प्रतिवद्धता जनाए।
‘यस देशका कोहीपनि बालबालिका अभिभावकविहीन भयौं भन्नु पर्दैन। शहीद परिवारका छोराछोरी अभिभावकविहीन भयौं भन्नु पर्दैन। शहीद परिवारका बुबा-आमा, जेष्ठ नागरिकहरू बेसहारा भयौं भनेर भन्नु पर्ने छैन। त्यसको प्रबन्ध सरकारले गर्ने छ’ ओलीले भने।
सोही कार्यक्रमा ओलीले ३ सय ८१ जना योद्धालाई सम्मान गरेका छन्। जसमध्ये १ सय ७६ जना पूर्वलडाकू सम्मानित भएका छन्। सम्मानित हुनेमा माओवादी सशस्त्र युद्ध र २०६२/६३को जनआन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ भएकाहरू र वहिर्गमित पूर्वलडाकू छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।