काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको बताएका छन्।
नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले सबै पक्षलाई एकताबद्ध हुन आह्वानसमेत गरेका छन्। नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामथ्र्य पैदा हुने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम एकताको अपिलसमेत गरेका छन्।
देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको स्पष्ट पार्दै उनलेले सबै पक्षलाई एकताबद्ध हुन आह्वानसमेत गरेका छन्। ‘अबको हाम्रो समाजवाद कस्तो हुने, यसको अर्थनीति र राजनीति कस्तो हुने र राज्य संरचना कस्तो हुने भन्ने प्रश्नको जवाफ हामीले दिनुपर्ने भएको छ,’ ‘प्रचण्ड’को सन्देशमा भनिएको छ, ‘वर्ग सङ्घर्ष, उत्पादनका निम्ति सङ्घर्ष र वैज्ञानिक प्रयोगजस्ता समाज विकासका नियमलाई आत्मसात् गर्दै विचारको विकास गर्न पनि उत्तिकै आवश्यक छ।’
अध्यक्ष दाहालले कृषि, उद्योग र अन्य व्यवसायलाई समाजवादी स्वरुप दिने भन्ने योजना र अभियान सञ्चालन गर्दै सूचना प्रविधिमा आएको विकासलाई उत्पादन र वर्ग सङ्घर्षका निम्ति व्यवहारिक प्रयोग गर्ने सोच र संस्कृति नेपाली मौलिक समाजवादको आधार बन्न सक्नेसमेत बताएका छन्।
नयाँ वर्षले नेपाली मौलिकतासहितको समाजवादको लक्ष्यमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै उनले विभिन्न समुदायमा रहेका नेपाली जनसमुदायबीच एकापसमा भाइचारा र घनिष्ठता अभिवृद्धिको शुभेच्छासहित प्रगतिको कामनासमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।